
काठमाडौं, १९ चैत । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज (बिहीबार) बस्दैछ । बैठक बिहान ९ बजे पार्टी कार्यालय पेरिसडाडामा बस्ने स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले जानकारी दिएका छन् । बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल हुने उनले जानकारी दिए ।
बुधबार मात्रै प्रमुख सचेतक देव गुरुङले संसदमा त्यसको संकेत गरेका थिए । चैत २३ गतेभित्र विश्वासको मत नलिएर सरकारको वैधानिकतामाथि प्रश्न उठ्ने उनले बताएका थिए । यस्तै केहि दिनअघि मात्र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई दिएको समर्थन चाँडै फिर्ता लिने जानकारी गराएका थिए । उनले आफूमाथि दवाव रहेका कारण मात्र सरकारलाई दिएको समर्थन कायम राख्न वाध्य रहेको बताएका थिए ।
यता माओवादी केन्द्रका अध्यक्ष नयाँ सरकार गठनका लागि दौडधुपमा लागेका छन् । उनले नयाँ सरकार गठनका लागि दलका शीर्ष नेताहरुलाई भेट्ने क्रम तीब्र बनाएका छन् । उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलगायतका शीर्ष नेताहरुसँग नयाँ सरकार गठनका लागि भेटवार्ता गरिसकेका छन् ।
तर, पनि सरकार गठनका लागि ठोस पहल शुरु भने हुन सकेको छैन । मुख्यतया नेपाली कांग्रेस नयाँ सरकार गठनका बारेमा खुल्न सकेको छैन । अध्यक्ष प्रचण्डले कांग्रेस सभापति देउवालाई नयाँ सरकार गठनबारे ठोस निर्णय दिन आग्रह गरेका छन् । प्रतिपक्षमा रहेका सबैजसो दलमा नेताहरुबीच दुई धार देखिएका कारण नयाँ सरकार गठन प्रक्रिया अघि बढ्न सकिरहेको छैन ।