
रसुवा – गोसाइँकुण्ड पदमार्गमा सञ्चालनमा रहेका होटलको पालो प्रणाली हटाइएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जको कोर तथा मध्यवर्ती क्षेत्रमा सञ्चालित होटल, लज तथा चिया पसलले यसअघि लागू गरेका प्रणाली हटाइएको हो ।
धुन्चे गोसाइँकुण्ड पदमार्गमा पालो प्रणालीमा होटल सञ्चालन गर्दा यात्रुलाई समस्या आएपछि पालो प्रणाली हटाइएको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्ज र होटल व्यवसायीबीच भएको छलफलले पालो प्रणाली हटाउने सहमति भएको प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताउनुभयो ।
विगत १२ वर्षदेखि चोलाङपाटीदेखि माथि सञ्चालनमा रहेका होटल व्यवसायीले अफसिजनमा पालो प्रणाली लागू गर्दै आएका थिए । केही वर्ष पहिलेसम्म सिजनमा मात्र पर्यटक आउने भएकाले अफसिजनमा व्यवसायीले पालो प्रणालीमा होटल सञ्चालन गरिरहेका थिए ।
तर पछिल्लो समय अफसिजनमा नेपाली पर्यटकको आगमन बढ्दा समेत व्यवसायीले पालो प्रणाली नहटाएपछि समस्या सिर्जना भएको थियो । धुन्चे गोसाइँकुण्ड पदमार्गमा १३ वटा होटल, लज तथा चिया पसल सञ्चालनमा रहेका छन् । जसमा ‘क’ वर्गको २, ‘ख’ वर्गको ८ र ‘ग’ वर्गको तीन वटा छन् ।
लाङटाङ राष्ट्रिय निकुञ्जको जग्गामा निर्माण भएका होटल लज तथा चिया पसलले आउँदाे दिनमा पालो प्रणालीलाई निरन्तरता दिएको खण्डमा कारबाही गरिने प्रमुख संरक्षण अधिकृत रानाले बताउनुभयो । उहाँको अनुसार व्यवसायीले निकुञ्जलाई जानकारी नदिइ आफूखुसी होटल बन्द गर्न मिल्दैन ।