सुर्खेतको पञ्चपुरी नगरपालिकामा घाँस काट्न गएका दिदीबहिनी झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । पञ्चपुरी नगरपालिका– ६ बाबियाचौरमा बस्दै आएका दुई दिदीबहिनी झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

१४ र १५ वर्षीया किशोरी दिदीबहिनी झुण्डिएको अवस्थामा शुक्रबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । घर्तीका अनुसार उनीहरू बिहान ८ बजे घरबाट घाँस काट्न नजिकैको जंगलमा गएका थिए ।

त्यहीँ ११ बजे झुण्डिएको अवस्थामा स्थानीयले देखेका थिए । १४ वर्षीया किशोरी कक्षा ७ मा र १५ वर्षीया किशोरी कक्षा ८ मा अध्ययनरत रहेको घर्तीले बताए ।

दुवै जना कमला बादीकी दिदीका छोरीहरू हुन् । ‘कमला बादीकै घरमा बसेर अध्ययन गर्दै आएका थिए,’ घर्तीले भने, ‘स्थानीयले दुई बालिकालाई झुण्डिएको अवस्थामा भेट्टाएपछि प्रहरीलाई खबर गरेका थिए ।’

उनीहरूको शव पोष्टमार्टमको लागि प्रदेश अस्पताल कालागाउँमा ल्याइएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय