
काठमाडौं, २२ चैत । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अब आफूहरु पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग मिल्ने कुनै अवस्था नरहेको बताएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले आइतबार काठमाडौं जिल्लाको समानान्तर कमिटी घोषणा गर्दै कानुनले छुट्टै पार्टी खोल्न नदिए विकल्प खोज्ने बताएका हुन् ।नेकपा एमालेभित्र समानान्तर गतिविधि गर्न थालेपछि निलम्बनमा परेका नेपालले नेकपा एमाले आफ्नो मूल पार्टी रहेको समेत दावी गर्दै भने, ‘कानुनले नदिए विकल्प खोजौंला। विचार मिल्छ। मूल पार्टी यही हो, ‘केपी ओलीले पर्टी नै कब्जा गरे भने छुट्टै कुरा हो।’‘केपी ओलीले फालेर फालिने मान्छे हौं? केपी ओलीले ल्याएर आएका हौं?, ‘कसैले प्रधानमन्त्रीको फुर्ती लगाउँछ भने त्यसको कुनै काम छैन।’ नेपालले भने । संख्यात्मक हिसाबले पनि उनले आफ्नो समूह कमजोर नरहेको दावी गरेका उनले भने, ‘वामदेव र हामी एकै ठाउँमा उभिँदैछौं, केन्द्रीय कमिटीमा हामी ९७ जना हुँदैछौं।’नेपालले आफूहरुलाई कारवाही गरेपनि मूल पार्टी आफ्नै समूह रहेको बताउँदैं ओलीले पार्टी नभइ गुट संचालन गरेको आरोप लगाए । उनले ओलीले नवौं महाधिवेशनमा जालझेल र षडयन्त्र गरेर अध्यक्ष जितेको र अहिले प्रधानमन्त्रीको फूर्ति लाइरहेको बताए ।