
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. डिला संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेकी छिन् ।
सोमवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा सांसद संग्रौलाले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीले पुनःस्थापना भइसकेपछि शासन चलाउने नैतिक अधिकार गुमाइसकेको बताएकी हुन् ।
‘प्रधानमन्त्रीको हठवादले यही पुस ५ गते संसद्को विघटन, कानूनी व्यवस्था र प्रचलित मूल्य–मान्यता भत्किएका छन् । सत्ता टिकाउन जे जस्तो कुकर्म गर्न तयार हुन्छन् भन्ने उनको सोच अब छताछुल्ल भैसकेको छ । आज उनलाई प्रतिनिधि सभाको खुल्ला विमर्शभन्दा बालुवाटारको कोठे बैठक प्रिय भएको छ,’ संग्रौलाले भनिन्, ‘नेपालको इतिहासमा पहिलोपटक विभिन्न बहानामा संसद्लाई निष्क्रिय र विजनेशविहीन बनाइँदै छ । सर्वोच्चले संसद्को पुनःस्थापना गरेपश्चात उनले शासन चलाउने नैतिक आधार गुमाइसकेका छन् । त्यसैले आज म संसदबाटै उनको राजीनामा माग गर्दछु ।’
सांसद संग्रौलाले कोरोनाविरुद्धको दोस्रो डोजको खोप उपलब्ध गराउन उनले सरकारको ध्यानाकर्षण गराइन् ।
‘कोरोनाको महामारीले एक वर्षयता विश्वलाई नै लखेटिरहेको छ । युरोपका कतिपय देशमा कोरोनाको तेस्रो लहर चलिरहेको छ भने उता भारतमा बढ्दै गएको कोरोनाको संक्रमणको कारण नेपालमा भारतबाट आउने मानिसमा संक्रमण दर बढ्दै गएको छ । भारतीय सीमावर्ती क्षेत्रमा कोरोनाको कारण विद्यालय जोखिमयुक्त छन् ।
नेपालमा पहिलोपटक कोरोना खोप लगाएकाले पनि दोस्रो डोज पाएका छैनन् । कोरोनाको नियन्त्रणका लागि आवश्यक सावधानी र तयारीमा जुट्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गर्दछु,’ उनले भनिन् । लोकान्तर बाट