
सुर्खेत, २४ चैत । कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले आज (मंगलबार) पदबाट राजीनामा दिका छन् । एमालेबाट कर्णाली प्रदेश सरकारमा सहभागी भएका तीन मन्त्रीले संयुक्त रुपमा राजीनामा दिएका हुन् । राजीनामा दिनेमा आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा छन् । उनीहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाही समक्ष राजीनामा बुझाएका छन् ।
कर्णालीमा एमालेले एकल सरकार बनाउने योजनासहित आफ्ना मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेको थियो । सोमबार नै राजीनामा दिने भनिए पनि मन्त्रीहरुले मंगलबार राजीनामा दिएका हुन् । आइतबार बसेको एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेको थियो भने चैत ४ गते सो पार्टीले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपा एमालेका २०, माओवादी केन्द्रका १३ र राप्रपाका १ जना सांसद रहेका छन् । जसमध्ये माओवादी केन्द्रका सांसद धर्मराज रेग्मीलाई माओवादी केन्द्रले कारवाही गरेका कारण कर्णाली प्रदेशसभामा सांसदहरुको संख्या ३९ रहेको छ । तीन मन्त्रीको राजीनामासँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाही अल्पमतमा परेका छन् ।