काठमाण्डाै – स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको अन्तिम चरणका काम धमाधम भइरहेको छ । बाँध, सुरुङ, प्रसारण लाइन, सब–स्टेशनलगायतका संरचनाका सिभिल र मेकानिकलतर्फका काम भइरहेको छ ।

माथिल्लो ठाडो सुरुङ र तल्लो ठाडो सुरुङको बीच भागमा राखिएको पेनस्टक पाइप जडानको अन्तिम चरणको काम भइरहेको हो । पाइपको ज्वाइन्टमा वेल्डिङ र पेन्टिङको काम आउँदाे वैशाख ६ भित्रमा सम्पन्न गर्ने लट २ हाइड्रोमेकानिकल ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ ।

अहिले हाइड्रोमेकानिकलतर्फका केही गेट र पेनस्टक पाइपसँग सम्बन्धित केही कङ्क्रिटकाे काम मात्रै बाँकी छ । बाँकी रहेका काम सम्पन्न गरी आउँदाे वैशाखको दोस्राे हप्तादेखि पेनस्टक र मुख्य सुरुङमा पानी हाली पेनस्टक, मुख्य सुरुङ, सर्ज स्याफ्ट, सर्ज सुरुङ, पेनस्टक पाइप जस्ता संवेदनशील संरचनाहरू तथा गेट, म्यानहोल र भल्भहरूको प्राविधिक परीक्षण गर्ने लक्ष्य तय गरी काम भइरहेको छ ।

मुख्य निर्माणअन्तर्गत बाँध/इन्टेक, मुख्य सुरुङ, विद्युत् गृह, टेलरेस सुरुङलगायतका सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको छ । जलाशय र बालुवा थिग्राउने पोखरीमा पानी भरी बाँध, इन्टेक लगायतका सिभिल संरचनाहरू र त्यहाँ जडान गरिएका गेट, स्टपलग जस्ता हाइड्रोमेकानिकल उपकरणहरूको सफलतापूर्वक प्राविधिक परीक्षण सम्पन्न भइसकेको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवम् माथिल्लाे तामाकोशी हाइड्रोपावर लिमिटेडका अध्यक्ष हितेन्द्रदेव शाक्यले सोमवार र मङ्गलवार निर्माणस्थलको स्थलगत अवलोकन गरी आयोजनाका पदाधिकारी, परामर्शदाता, तीन वटै ठेकेदारसँग बाँकी रहेका निर्माण कार्यहरू चाँडाे सम्पन्न गरी सुरुङमा पानी भर्ने कार्यतालिका बारेमा संयुक्त छलफल गर्नुभएको छ ।

बाँकी रहेका कामहरू आउँदाे वैशाख १० गतेभित्र सम्पन्न गरी वैशाख ११ बाट सुरुङमा थोरै परिमाणमा पानी पठाइ मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी भर्न सुरु गर्ने र पानी भर्ने क्रममा कुनै जटिल समस्या नआएमा ७ देखि ९ दिनभित्र परीक्षण कार्य सम्पन्न गर्ने लक्ष्य रहेकाे छ ।

यसअनुसार सिभिल र हाइड्रोमेकानिकल संरचनाहरूमा पानी परीक्षण कार्य सफलतापूर्वक सम्पन्न भएपछि मुख्य सुरुङ र पेनस्टकमा जम्मा भएको पानीले भूमिगत विद्युत् गृहमा जडान गरिएका ६/६ वटा टर्वाइन र जेनेरेटरको क्रमैसँग परीक्षण र कमिसनिङ कार्य प्रारम्भ हुनेछ । यस क्रममा पहिलो युनिटबाट २०७८ वैशाख महिनाभित्र विद्युत् उत्पादन सुरु हुने शाक्यले जानकारी दिनुभयो ।

‘भूकम्प, बाढी पहिरो, कोरोना कहर जस्ता विभिन्न समस्या झेल्दै आएको आयोजना निरन्तरको प्रयासबाट अब विद्युत् उत्पादन सुरु गर्न सक्ने अवस्थामा पुर्‍याएका छौँ, निर्धारित तालिकाभन्दा अघि नै विद्युत् उत्पादन हुने गरी बाँकी रहेका काम समानान्तर रूपमा अगाडि बढाएर सम्पन्न गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘चालु आर्थिक वर्षभित्रमा सम्पूर्ण निर्माण सम्पन्न गरी ४५६ मेगावाट नै विद्युत् उत्पादन हुनुपर्छ ।’

आयोजनामा ७६/७६ मेगावाटका ६ वटा युनिट रहेका छन् । पहिलो युनिटबाट विद्युत् उत्पादन भएपछि बाँकी युनिटबाट क्रमशः विद्युत् उत्पादन हुनेछ ।

२०७२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवम् बाढी पहिरोले पुर्‍याएकाे क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण समग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल (लट २) ठेकेदारको कमजोर कार्यसम्पादनलगायतले गर्दा आयोजनाको निर्माण ढिलाइ भएको थियो । लट २ को ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याको रेल एण्ड इन्जिनियरिङले पाएको थियो । कम्पनीको कमजोर कार्यसम्पादनका कारण बाँधका पेनस्टक पाइपलगायतका हाइड्रोमेकानिकल उपकरणहरू उत्पादन र जडानमा ढिलो भइ आयोजनाको समग्र निर्माण कार्यमै ढिलाइ भएको हो ।

भूकम्पले गर्दा झण्डै दुई वर्ष काम रोकिएको, बाँधस्थलतर्फ जाने सुरुङ मार्ग बनाउनुपरेको, केही संरचनाको डिजाइन हेरफेरलगायतले आयोजनाको निर्माणमा केही ढिलाइ भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताउनुभयो । ‘स्वदेशी लगानीमा निर्माण भइरहेको देशकै सबैभन्दा ठूलो आयोजना प्राकृतिक विपत्ति र विश्वव्यापी महामारी कोभिड–१९ को चपेटामा पर्‍याे, त्यसबाट तङ्ग्रिदै विद्युत् उत्पादनको चरणमा पुगेको छ, यो सबैका लागि खुसीको विषय हो’, उहाँले भन्नुभयो ।

लट २ को ठेक्का पाएको टेक्स्म्याकोले काम गर्न ढिलाइ गरेपछि अत्यन्तै कठिन मानिएको तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा आयोजनालाई वित्तीय भार नपर्ने गरी इलेक्ट्रोमेकानिकल (लट ३) को ठेकेदारलाई दिइएको थियो ।

आयोजनाले चरिकोट (दोलखा)–सिंगटी ३५ किलोमिटर सडकमा झण्डै एक अर्ब रुपैयाँ खर्च गरी स्तरोन्नति गरेको थियो । आयोजनाले सिंगटीदेखि बाँधस्थल लामाबगरसम्म सुरुङ मार्गसहित २९ किलोमिटर सडक र सात वटा पक्की पुल बनाएको छ ।

यही पूर्वाधारलाई प्रयोग गरी तामाकोशी नदी बेसिनमा पर्ने विभिन्न खोलामा माथिल्लो तामाकोशीबाहेक साना–ठूला गरी झण्डै ७०० मेगावाट जम्मा क्षमता बराबरका २१ जलविद्युत् आयोजना अगाडि बढेका छन् । आयोजनाले सडक बनाइदिएपछि दोलखाको उत्तरी क्षेत्रमा पर्ने साविकका २० गाविसका नागरिकलाई आवतजावत सहज भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय