
प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ विगत ४ दिन केही मात्रामा उडान प्रभावित भएको छ । मौसम खराबीले अन्तर्राष्ट्रिय उडान नियमित भए पनि आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले आन्तरिक उडान केही संख्यामा प्रभावित भएको जानकारी दिए । विमानस्थलबाट विभिन्न गन्तव्यमा हुने उडान थोरै संख्यामा रद्द भएको छ । यान्त्रिक पद्धति (आईएफआर) बाट रात्रिकालीन उडानयोग्य विमानस्थलमा उडान गरिए पनि पोखरा, जनकपुर, सिमरालगायत गन्तव्यको उडान प्रभावित भएको छ ।
अघिल्लो १ हप्ता मौसम खराबीले उडान रद्द भएको अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः गत चैत २३ गते मंगलवारदेखि उडान प्रभावित भएको छ । काठमाडौं उपत्यकासहित देशभरको आकाशमा बाक्लो धुवाँ सहितको तुवाँलो लागेकाले भिजीबिलिटी कम हँुदा खासगरी आन्तरिक उडान प्रभावित बनेको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलको तथ्यांकअनुसार आन्तरिक उडानमा बुधवार विभिन्न एयरलाइन्सका जम्मा ११२ उडानमध्ये ९५ मात्रै उडान भए । १२ उडान रद्द हुनका साथै ५ उडान मर्ज गरिएको थियो । यी उडानबाट प्रस्थान र आवागमन दुवै गरी ९ हजार ८२४ यात्रुले हवाई यात्रा गरेका छन् ।
बुद्ध एयरको ७, यती एयरलाइन्सको ४ र सीता एयरको १ उडान रद्द भएको छ ।
गत मंगलबार आन्तरिकतर्फ ११८ उडान निर्धारण गरिएकामा जम्मा ८८ उडान भए । २८ उडान रद्द भएका छन् । बुद्ध एयरको १५, यती एयरलाइन्सको ६, समिट एयरको ३, सौर्य एयरलाइन्सको २ तथा तारा एयरको समान १–१ उडान भएका छन् ।
सबै उडानमार्फत ८ हजार ६८७ यात्रु आवतजावत गरेका छन् ।
अघिल्लो सोमवार सर्वाधिक ३० उडान रद्द भएका छन् । उक्त दिन जम्मा १२२ उडान निर्धारण गरिएकामा ९१ मात्रै उडान भएको छ । बुद्ध एयरको १७, यती एयरलाइन्सको ९, तारा एयरको २ तथा श्री एयरलाइन्स र सीता एयरको समान १–१ उडान रद्द भएको विमानस्थल कार्यालयले जनाएको छ । रासस
[email protected] मा पठाउनु होला।
फेसबुकमा तपाईको प्रतिक्रिया