राष्ट्रिय खबर

बाढी पीडितलाइ घर पुनर्निर्माणका लागि ५० करोड दिने सरकारको निर्णय


  काठमाडौँ   सवालनेपाल   २०७७ चैत्र २६, १४:४०

काठमाडौं : गत वर्ष सिन्धुपाल्चोक, बाग्लुङसहितका जिल्लामा गएको बाढी र पहिरोका कारण क्षति पुगेका घरको पुननिर्माणका लागि पहिलो किस्ताको रकम दिने निर्णय भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार बसेको विपद जोखिम न्यूनिकरणको राष्ट्रिय परिषद् बैठकले पहिलो किस्ताको रकम दिने निर्णय गरेको हो ।

विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलका अनुसार विपद व्यवस्थापन कोषमा रहेको रकममध्ये ५० करोड रुपैयाँबाट तीन हजार घर पुनर्निमाणका लागि रकम दिने निर्णय भएको छ । मनसुसजन्य विपदका कारण घरमा क्षति पुगेका परिवारका लागि पुननिर्माण गर्न सहयोग सम्बन्धी कार्यविधि पहिल्यै बनिसकेको थियो, तर बजेट अभावमा रकम पठाउन सकेका थिएनौं’, पोखरेलले भने, ‘यो निर्णयसँगै चाँडै पहिलो किस्ताको रकम वितरण हुनेछ ।’

कार्यविधि अनुसार घर पुननिर्माणका लागि हिमाली जिल्लामा ५ लाख, पहाडीमा ४ लाख र तराईमा ३ लाख रुपैयाँ प्रतिघर दिने उल्लेख छ । बैठकमा यस वर्ष आगलागीबाट क्षति पुगेका घरको पुनर्निमाणमा सहयोग गर्ने सम्बन्धमा पनि तयारी थाल्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन् । गत २१ चैतमा बाँकेको नरैनापुर गाउँपालिका–४, खोदवा गाउँमा भएको आगलागीमा परेर १२० वटा घर टहरा जलेका थिए, जुम्लाको तिला गाउँपालिकामा पनि ३५ घर नष्ट भएका छन् ।

ती ठाउँमा घर निर्माणका लागि सहयोग गर्न एकीकृत कार्यविधि बनाउने तयारी थालिएको प्राधिकरणका सीइओ पोखरेलले बताए । यसैगरी प्रधानमन्त्री ओलीले डढेलो बढिरहेको उल्लेख गर्दै नियन्त्रणका लागि सबै स्रोत र जनशक्ति प्रयोग गर्न विपद व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिएका छन् । डढेलोका कारण वायु प्रदूषणसमेत बढिरहेको उल्लेख गर्दै ओलीले यसलाई ठूलो विपदको रुपमा लिएर नियन्त्रणका लागि गम्भिर बन्न निर्देशन दिएका हुन् ।

‘स्थानीय निकाय, वन उपभोक्ता समिति, सबै सुरक्षा निकायसहितको समन्वयमा हेलिकोप्टरदेखि अन्य स्रोत, साधन प्रयोग गरेर भए पनि डढेलो नियन्त्रणमा लिनुस्’, ओलीले भनेका छन्, ‘कतिपयले जानीजानी आगो लगाउने पनि गरेका छन्, तिनीहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।’ उनले आगो नियन्त्रणका लागि आवश्यक उपकरण र साधन स्थानीय तहसम्म व्यवस्था गर्न पनि निर्देशन दिएका छन् । बैठकमा बाढीको पूर्वतयारीबारे पनि छलफल भएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु