गर्मी मौसमको आगमनसँगै कतिपय रोगव्याधी सल्बलाउन थाल्छन् । गर्मीयामसँगै बालबालिका अझ बढी जोखिममा हुन्छन् । कोरोना भाइरसको जोखिमसँगै अन्य रोगले पनि बालबालिकालाई सताउने हुँदा सतर्क हुनु जरुरी रहेको चिकित्सकको सुझाव छ ।

गर्मी बढेसँगै झाडापखाला, आउँ, टाइफाइड, मलेरिया, कालाजार, डेङ्गु, हेपाटाइटिस, छालामा हुने समस्यालगायतका बिरामी बढ्ने गरेको विशेषज्ञको भनाइ छ । बालबालिकालाई यस्तोरोगबाट जोगाउन अझ बढी सतर्क रहनुपर्छ । गर्मीयाममा समयमा खाना, पानी, बसाइ तथा कपडा प्रयोग गर्दा बालबालिकालाई रोगबाट टाढा राख्न सकिन्छ । सामान्य रुघाखोकीदेखि गर्मी मौसममा जाडो मौसमभन्दा धेरैकिसिमका इन्फ्ल्युएन्जा भाइरल रोगले सताउने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जानकारी दिए । उनका अनुसार गर्मीमा सबैभन्दा बढी सङक्रमण पानीबाट हुने गर्छ। त्योसँगै गर्मी मौसममा बढी हावा चल्ने हुन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हावाले उडाएर ल्याउने धुलोका कारण छाला र आँखामा पनि समस्या देखापर्ने गर्छ। उनले भने, “गर्मीको सुरुवातसँगै झाडापखाला, टाइफाइडलगायत तराईमा सर्पको टोकाइले हुने बिरामी देखा पर्न थालेका छन् ।” गर्मी मौसममा धेरैजसो बालबालिका बिरामी हुने गरेको बताउँदै उनले भने, “गर्मी मौसममा खाएको खाना राम्रोसँग पच्दैन, त्यसले बालबालिकामा झाडापखाला, आउँ, दादुराजस्ता समस्या देखा पर्छन् । अत्यधिक गर्मीका कारण बढीजसो चिसो खानेकुरा खाने गरिन्छ, बच्चामा यसको छिटो असर पर्ने हुनाले चिसोले लाग्नेरोगको असरसमेत देखा पर्न सक्छ ।” वायुमण्डलमा भएको धुलो र प्रदूषित पानीका कारण टाइफाइड, हैजा, निमोनिया, घाउखटिरा तथा मेनेन्जाइटिसजस्ता रोगले पनि बालबालिकालाई सताउने उनको अनुभव छ । गोरखापत्रमा खबर छ ।