काठमाण्डाै – निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) ले विद्यालय बन्द गर्ने नभइ सावधानी अपनाएर सञ्चालन गर्नुपर्ने बताएको छ ।

काेभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमणको दोस्रो लहर देखिन थालेको भन्दै कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को शनिवार (हिजो) को बैठकले कम्तीमा तीन हप्ता विद्यालय बन्द गर्न मन्त्रिपरिषदमा सिफारिस गरेपछि प्याब्सनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै विद्यालय बन्द नगर्न भनेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्याब्सनका अध्यक्ष टीकाराम पुरी र महासचिव कुमार घिमिरेले विज्ञप्ति निकालेर अघिल्लो पटकको लकडाउनले सबै क्षेत्रमा नकारात्मक प्रभाव पारेको भन्दै विद्यालय बन्दभन्दा सङ्क्रमणबाट बच्न स्वास्थ्य सावधानी अपनाएर सञ्चालन गरिनुपर्नेमा जोड दिइएको छ ।

विद्यालयमा स्वास्थ्यका सबै सावधानी अपनाउन तयार रहेको भन्दै आपसी छलफलबाट थप सावधानीका उपाय अपनाउनुपर्ने तर बन्द गर्न नहुने विज्ञप्तिमा भनिएको छ । प्याब्सनले सबै शिक्षक–कर्मचारीलाई, सबै शिक्षालयहरूमा अध्ययनरत विद्यार्थीलाई स्वास्थ्य सावधानीका उपायहरू पालना गर्न/गराउन विशेष भूमिका निर्वाह गर्न पनि अनुरोध गरेको छ ।

प्याब्सनले विद्यालय बन्द गराएर अनलाइन माध्यमबाट सबै ठाउँमा पठनपाठन सञ्चालन गर्न सम्भव नरहेको पनि स्पष्ट पारेको छ । ​