दोलखा । मेलुङ गाउँपालिका–७ की ४० वर्षीया एक महिला पाँच वर्षदेखि एकल रूपमा थिइन्। तर, छिमेकी ४५ वर्षीय पुरुषले स्थानीय बजार जाने क्रममा ‘जबर्जस्ती’ शारीरिक सम्बन्ध राखेका कारण गर्भ रहन गयो। तर, त्यो गर्भ यही चैत ५ गते आठ महिनामा फालियो, त्यो पनि छोराकै उपस्थितिमा।

गर्भपतनका कारण ती महिलाको ज्यान जोखिममा परेपछि पीडित पक्ष प्रहरीमा पुगेको थियो। तर, प्रहरीले उजुरी दर्ता गर्न अस्वीकार गरेपछि पीडित महिलाले न्याय र उपचार नपाउने अवस्था देखिएको छ। कुन कानुनअन्तर्गत मुद्दा चलाउने भन्ने अन्योलका कारण उजुरी दर्ता गर्न नमिलेको दोलखाका प्रहरी प्रमुख डीएसपी भेषराज रिजालले बताए। यसले पीडित पक्षलाई न्याय दिलाउन कानुनी जटिलता बढाएको जनाइएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एकल महिलाका २१ वर्षीय छोराले आमाको ज्यान बचाउन गर्भपतनका लागि आफैं गएको स्वीकार गरे। ‘एक्कासि बिरामी भएपछि आमालाई सोधपुछ गर्दा गर्भको कुरा आयो। र, त्यो मान्छेलाई बोलाएर गर्भपतन गराउन काठमाडौं कलंकी गएका हौं’, ती युवकले भने। ती महिलाले आफूलाई जबर्जस्ती रातारात गर्भपतन गर्न काठमाडौं लगेको जनाएकी छन्।

गर्भपतनपछि पोसिलो खानेकुरा र अन्य उपचार अभावमा ती महिला थलिँदै गएपछि गाउँलेले उपचारार्थ चरिकोट अस्पताल ल्याएका थिए। त्यही बेला उक्त घटना बाहिरिएको हो। डीएसपी रिजालले गर्भपतन गरेको क्षेत्र आफ्नो कार्यक्षेत्रभित्र नपर्ने भएकाले कानुनी जटिलता आएको बताए।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।