२०७७ साल नेपाली राजनीतिको दिशा बदल्ने वर्ष बन्यो । आजभन्दा ठीक १ वर्ष अगाडिको नेपाली राजनीतिको परिदृश्य र अहिलेको परिदृश्यमा ठूलो भिन्नता देखिएको छ ।नेपालको राजनीति यो अवस्थामा आइपुग्ला भनेर २०७७ साल सुरु हुँदा सायद कसैले कल्पना गरेका थिएनन् ।

गत साल

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदमा करिब २ तिहाई बहुमत थियो ।यो संसद कायम रहँदासम्म नेकपाबाहेक अन्य पार्टीको सरकार बन्ने सम्भावनाबारे सोच्ने अवस्था पनि थिएन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस निकै कमजोर अवस्थामा थियो । अहिलेको जनता समाजवादी (जसपा) त्यो बेला राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीका रूपमा थियो । उनीहरूतर्फ कसैको ध्यान थिएन ।चालु संसदको अवधि मात्रै नभएर आगामी दशक नै कम्युनिस्ट पार्टीकै सरकार रहने अनुमान नेपाली राजनीतिक वृत्तमा थियो ।

यस वर्ष 

वर्षको सुरुवातमा संसदमा करिब दुई तिहाइ मतसहित प्रधानमन्त्री बनेका केपी शर्मा ओली अहिले साधारण बहुमत जुटाउन कसरत गरिरहेका छन् । नेपाली कांग्रेसको सभापति र प्रमुख प्रतिपक्षी दलको हैसियतमा सामान्य उपस्थितिबाहेक नेपाली राजनीतिमा शेरबहादुर देउवाको कुनै भूमिका थिएन । अहिले देउवाको ढोकैमा प्रधानमन्त्री पद आएको छ । २०७७ को सुरुवातमा नेपालमा एमाले र माओवादी केन्द्र नामका पार्टी थिएनन् । २०७७ को सुरुवातमा रहेको नेपालको ठूलो पार्टी नेकपा अब छैन । सर्वाेच्च अदालतले त्यसलाई एमाले र माओवादी बनाइसकेको छ । एमाले नै पनि फुटको संघारमा छ । कसैले वास्ता नगरेका मधेसवादी पार्टीहरू पनि सत्ता खेलका निर्णायक बनेका छन् ।यसरी वर्षको सुरुवात र अन्तिमको अवस्थालाई हेर्दा नेपालको राजनीतिका शक्तिका हिसाबमा उथल–पुथल नै भएको मान्न सकिन्छ । २०७७ को सुरुवात र अन्त्यको अवस्थालाई तुलना गर्दा नेपालको राजनीतिमा कसको शक्ति बढ्यो कसको शक्ति घट्यो ?

केपी शर्मा ओली

२०७७ को सुरुवात र होस् वा यसको अन्त्यमा नेपाली राजनीतिको सबैभन्दा शक्तिशाली व्यक्तिका रूपमा केपी शर्मा ओली नै छन् । देशकै सबैभन्दा शक्तिशाली पदमा रहेका ओली संसदको सबैभन्दा ठूलो दलको नेता र अध्यक्षको हैसियतमा पनि शक्तिशाली नै छन् । उनको गत सालको र अहिलेको शक्तिको तुलना गर्दा भने निकै फरक अवस्था देखिन्छ । नेपालको इतिहासमा राणाकालीन प्रधानमन्त्रीका अलावा ओली सबैभन्दा शक्तिशाली र अधिकार सम्पन्न प्रधानमन्त्री हुन् । कार्यपालिकातर्फ प्रधानमन्त्रीभन्दा उपल्लो पद राष्ट्रपतिमा समेत आफू अनुकूलको व्यक्ति रहँदा ओली झनै शक्तिशाली भएको देखिन्छ ।२०४६ सालको परिवर्तनपछि सबैभन्दा धेरै समय पदमा रहने प्रधानमन्त्री पनि ओली नै हुन् ।दुई ठूला कम्युनिस्ट पार्टीको समर्थनमा सत्ताको बागडोर सम्हालेका ओली तिनै दुई पार्टी एकीकरण भएपछि करिब दुई तिहाइ बहुमतसहित बलियो प्रधानमन्त्री बनेका थिए । एमाले, माओवादी एकता गर्दा प्रचण्डसँग आलोपालो प्रधानमन्त्री चलाउने भद्र सहमति गरेका ओलीले ५ वर्ष नै प्रधानमन्त्री पदमा रहन पार्टीबाट अनुमति पाइसकेका थिए ।

सरकार र पार्टी सञ्चालनको काम चित्तबुझ्दो नभएको भन्दै ओलीमाथि गतसालको सुरुवातदेखि नै पार्टीभित्रबाट दबाब आउन सुरु भएको थियो । पार्टीभित्र विवाद बढिरहेकै बेला वैशाख ८ गते ओलीले दल विभाजन गर्ने कानुन संशोधन गर्ने गरी अध्यादेश जारी गरे । यसपछि तत्कालीन नेकपाभित्रको किचलोले उग्ररूप लियो ।पार्टी एकतादेखि नै छायामा परेका माधव नेपाल, झलनाथ खनाल र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ओलीविरुद्ध एक ठाउँमा उभिए । त्यसपछि ओलीले प्रधानमन्त्री वा अध्यक्ष दुईमध्ये एक पद छाड्नुपर्ने दबाब आयो । अर्काे पक्षले पार्टीको बैठक राख्न खोज्ने, ओली बैठक छल्ने क्रम निरन्तर चलिरह्यो ।

भदौ २६ ले ओलीलाई राहत 

ओलीको चाहना नहुँदा नहुँदै पनि असार १० गतेबाट स्थायी समिति बैठक सुरु भयो । बैठकमा ओली र सरकारको तीब्र आलोचना भयो । अधिकांश सदस्यले ओलीले दुईमध्ये एक पद छाड्नु पर्ने दबाब दिए । बैठक आफ्नो प्रतिकूल भएपछि ओलीले यसलाई नियमित गर्न चाहेनन् । दबाबमा बोलाइएका बैठकमा पनि उपस्थित हुन मानेनन् । विभिन्न तनावबीच पटक–पटक सर्दै, बस्दै गरेको त्यो स्थायी समिति बैठकको बैठान भदौ २६ गते भयो ।विवाद बढ्दै जाँदा नेकपाले दोस्रो तहका नेताहरूलाई समेटेर कार्यदल बनायो । त्यो कार्यदलले दिएको सुझावका आधारमा सहमति गरी भदौ २६ गते स्थायी समिति बैठक डाकियो । बैठकले सर्वसम्मत रूपमा ५ वर्ष ओली नै प्रधानमन्त्री रहने,  महाधिवेशनसम्म ओलीले अध्यक्ष पद छाड्नु नपर्ने लगायत निर्णय गर्‍यो  ।

ओलीलाई एक पद छाड्नुपर्ने दबाब दिएको पक्षले पार्टीको सहमतिमा ओलीले सरकार सञ्चालन गर्ने, राजनीतिक नियुक्तिमा सबैसँग सल्लाह गर्ने जस्ता कुरामा सहमति गरेर चित्त बुझायो । पार्टीको विवाद अन्त्य भएको घोषणा समेत गरियो पद छाड्नु पर्ने दबाबमा रहेका ओलीलाई त्यो निर्णयले निकै राहत दिएको थियो । पछि ओलीले एकलौटी रुपमा मन्त्रिपरिषद् हेरफेर गरे । त्यहीअनुसार संवैधानिक निकायमा नियुक्तिको तयारी गरे । त्यसपछि प्रचण्ड, माधव  नेपालहरू ओलीले नटर्ने र उनलाई ठेगान लगाउनै पर्ने निष्कर्षमा पुगे । त्यही अनुसार एक पक्षले अर्काे पक्षलाई कमजोर बनाउने पेल्न क्रम चल्दै गर्दा संसद विघटन, नेकपा खारेज हुँदै अहिलेको अवस्थासम्म राजनीति आएको देखिन्छ ।

ओली शक्तिशाली भए कि कमजोर

अहिले देशमा कार्यकारी प्रधानमन्त्री ओली नै छन् । संसद विघटन गर्ने उनको कदमलाई सर्वाेच्च अदालतले असंवैधानिक ठहर गर्दा नैतिक रूपमा ओली तल परेका छन् । सर्वाेच्च अदालतले नेकपा खारेज गरेर दुई पार्टी बनाइदियो । ओली प्रधानमन्त्री पदबाट टसमस भएनन् । हाल उनलाई हटाउने निकै कसरत भइरहे पनि कठिन देखिएको छ ।तत्कालीन नेकपा र वर्तमान एमालेभित्रका आफ्ना प्रतिद्वन्द्वीलाई कमजोर बनाउन ओली सफल भएका छन् । यस हिसाबमा हेर्दा ओली २०७७ मा शक्तिशाली भएको देखिन्छ । तर, सारमा हेर्दा ओली गतसालको तुलनामा निकै कमजोर देखिन्छन् । एक वर्ष अगाडि ठूलो पार्टीभित्र निर्विकल्प नेतृत्वका रूपमा थिए ओली । ५ वर्षका लागि कसैले हल्लाउन नसक्ने प्रधानमन्त्रीका रूपमा खडा थिए ।अहिले सरकार जोगाउनका लागि महन्थ ठाकुर, राजेन्द्र महतोसँग मोलमोलाई गर्नु परिरहेको छ । बलियो नेकपामा नेता ओली एमालेका अध्यक्ष मात्रै रहेका छन् । ओलीलाई दुवै पटक प्रधानमन्त्री बनाउन साथ दिएका प्रचण्ड ओलीका सबैभन्दा नजिकका विरोधी भएका छन् । एमालेभित्र पनि ठूलो पंक्ति उनको विरोधमा खडा छ ।

ओलीभन्दा पहिल्यै लामो समय पार्टीको नेतृत्व गरेका माधव नेपाल र झलनाथ खनालले देशभर समानान्तर कमिटी बनाइरहेका छन् ।  एमालेमा सम्भावना भएको मानिएका पछिल्लो पुस्ताका नेताहरू घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई ओलीको विरोधमा देखिएका छन् ।केही पूर्व माओवादी नेताहरूले ओलीलाई साथ दिएको देखिए पनि उनीहरू पदका लागि मात्रै ओलीको पक्षमा लागेको स्पष्टै देखिन्छ । बाहिर झट्ट हेर्दा ओली शक्तिशाली देखिए पनि भित्रीरूपमा वर्ष सुरुवातको तुलनामा अन्त्य हुँदा उनको शक्ति निकै गुमेको छ । ठूलो जनमतको पार्टी र नेता रहेका ओली पार्टीको एउटा समूहको वाहीवाहीमा मात्रै रमाइरहेका छन् ।अहिलेकै अवस्था रहेमा ओली पहिलेजस्तो शक्तिशाली बन्ने सम्भावना देखिँदैन । पार्टीभित्र आफ्ना प्रतिद्वन्द्वीलाई परास्त गर्ने नाममा ओलीले आफूलाई पनि कमजोर बनाएको पक्का हो । भदौ २६ पछि प्रचण्ड, माधव नेपाल पक्षले सरकारमा आफ्नो पक्षका केही मन्त्री र सरकारी नियुक्तिमा केही भाग मात्रै खोजेका थिए ।सत्ता जोगाउन आफ्नै पार्टीका माधव नेपाल पक्षलाई भाग दिन तयार नभएका ओली अहिले जपसा नेताहरूको विभिन्न माग पूरा गरेर सत्ता जोगाउनु पर्ने अवस्थामा पुगेका छन् ।

पुष्पकमल दाहाल प्रचण्ड

गतसाल एक ठूलो पार्टीको अध्यक्ष रहेका प्रचण्ड अहिले संसदको तेस्रो दल माओवादी केन्द्रको मात्रै अध्यक्षमा सीमित भएका छन् । माधव नेपाल पक्षसँग मिलेर प्रचण्ड तत्कालीन नेकपामा निकै शक्तिशाली देखिएका थिए । नेकपाभित्रका दुई अध्यक्ष ओली र प्रचण्ड मध्ये बहुमत पक्षको समर्थन प्रचण्डलाई थियो । पार्टीभित्र पूर्व माओवादीहरू लगभग एक रहँदा, पूर्व एमालेको आधा पक्षले प्रचण्डको पक्षमा लागेको थियो । उनले नेकपा रहँदासम्म शक्तिशाली प्रधानमन्त्री रहेका ओलीलाई चर्काे दबाब दिन सफल भएका थिए ।प्रतिनिधिसभा विघटन गर्ने ओलीको कमदलाई सर्वाेच्च अदालतले असंवैधानिक ठहर गरेर उल्ट्याएपछि नैतिक रूपमा प्रचण्डको जित भएको थियो ।

यसले उनलाई मजबुद बनाएको थियो । तत्कालीन नेकपा खारेज गरी एमाले र माओवादी ब्यूँताउने सर्वाेच्च अदालतको फैसलापछि प्रचण्डको शक्ति निकै क्षण भयो । नत्र उनी नेतृत्वको नेकपालाई आधिकारिकता दिन निर्वाचन आयोग बाध्य हुने अवस्था थियो ।एमाले माओवादी ब्यूँताउँदा उनलाई दर्बिलो साथ दिइरहेका माधव नेपाल, झलनाथ खनालसहितका पूर्व एमाले प्रचण्डको साथबाट छुट्टिन बाध्य भए । त्यसपछि प्रचण्ड कमजोर बने । लामो समय आफ्नो साथमा रहेका रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु शाहले समेत साथ छाडेका कारण प्रचण्ड झन् कमजोर बनेका छन् । करिब २ दशक नेपाली राजनीतिको केन्द्रमा रहेका प्रचण्ड अहिले पनि सत्ताको खेलका लागि निर्णायक पात्र भने हुन् । उनी अहिले ओलीलाई सत्ताबाट हटाउने प्रयत्नमा लागिरहेका छन् ।

शेरबहादुर देउवा  

दुई ठूला कम्युनिस्ट पार्टी गठबन्धन गरी निर्वाचनमा जाँदा कांग्रेस नराम्रोसँग पराजित भयो । संघीय संसदमा पनि कमजोर स्थितिमा रहेको कांग्रेसका नेता देउवा नेकपा फुटेपछि एकाएक शक्तिशाली भएका छन् । ‘देउवा नै कांग्रेसका अन्तिम प्रधानमन्त्री हुन्’  भन्दै ओलीले उनलाई व्यंग्य गरेका थिए । तर, अहिले प्रधानमन्त्रीको पद देउवाको ढोका ढक्ढक्याउन पुगेको छ । ओली सत्ताबाट बाहिरिने परिस्थिति बनेमा नयाँ प्रधानमन्त्रीको बलियो दावेदार देउवा नै देखिन्छन् । कमजोर प्रतिपक्षका नेता भएर बेवास्तामा परेका देउवाको निवासमा अहिले अन्य पार्टीका नेताहरूको बाक्लो उपस्थिति देखिन्छ । यही परिस्थितिमा नयाँ निर्वाचन भएको खण्डमा कांग्रेस पहिलो पार्टीको रूपमा आउने सम्भावना धेरै देखिन्छ ।२०७७ सालले देउवालाई निकै कमजोर नेताका अवस्थाबाट एक शक्तिशाली नेताका रूपमा परिणत गरेको छ ।

माधव नेपाल

तत्कालीन नेकपा हुँदा प्रचण्डसँग मिलेर शक्तिशाली देखिएका माधव एमाले ब्यूँतिएपछि समस्यामा परेका छन् । प्राविधिक कारणबस ओलीलाई अध्यक्ष मान्न बाध्य भएका नेपाल र उनको समूहप्रति ओली र उनको पक्ष आक्रामक बनिरहेको छ । एमाले ब्यूँतिएपछि ओली नेपाल पक्षका कुनै पनि नेताका माग सुन्न तयार देखिँदैनन् । आफ्ना सबै निर्णय चुपचाप मानेर मात्रै पार्टीमा रहन ओलीले उनी र उनको पक्षका नेतालाई कारबाही गरेर सन्देश दिइसकेका छन् । एमालेको नेतृत्वमा रहेको लामो लिगेसी, तल्लो तहसम्मका संगठनमा बलियो उपस्थिति जस्ता कारणले नेपाल एमाले छाड्न सक्ने अवस्थामा पनि छैनन् । तर, एमालेमा अहिले ओलीले चाहेको बाहेक केही नहुने अवस्था छ । यस्तो बेलामा नेपाल कमजोर अवस्थामा देखिएका छन् ।माधव नेपालले अहिले देशैभर संगठनमा पकड बनाएर ओलीलाई जवाफ दिने योजना बनाएका छन् । तर त्यसले के निकास दिन्छ भन्नेमा अन्योल देखिन्छ । २०७७ सालको राजनीतिक खिचातानीले माधव नेपाललाई अप्ठेरो पारेको छ ।

जसपा नेताहरू

२०७७ सालको राजनीतिले सबै मधेस केन्द्रित राजनीति गरिरहेका दुई पार्टी समाजवादी र राजपालाई एक बनायो । अहिले जसपा सत्ता फेरबदलका लागि सबैभन्दा ठूलो हतियार बनिरहेको छ । ओली सत्ताबाट हट्छन् वा सत्तामा रहिरहन्छन् भन्ने कुरा जसपामै गएर अड्किएको छ । जसपा नेताहरू तानातानमा छन् । ठूलो पार्टी नेकपाको सरकार रहँदा जसपालाई एउटा मन्त्री दिनका लागि पनि योग्य ठानिएको थिएन । जसपाका एक अध्यक्ष उपेन्द्र यादवलाई त ओलीले अपमानजनक तरिकाबाट मन्त्रिपरिषदबाट निकालेका थिए ।

अहिले तीनै जसपाका नेताहरू यति शक्तिशाली देखिएका छन् कि प्रधानमन्त्री कै अफर आइरहेको छ । सत्ता साझेदारीका लागि चर्काे रूपमा बार्गेनिङ गरिरहेका छन् ।यो हेर्दा २०७७ ले नेपालको राजनीतिमा निकै उथलपुथल ल्याएको छ । वर्षको सुरुवातमा निकै कमजोर देखिएका पात्रहरूलाई शक्तिशाली र निकै शक्तिशाली देखिएका पात्रलाई कमजोर अवस्थामा पुर्‍याएको छ । बलियो देखिएको नेकपा छिन्नभिन्न हुन् त्यससँग सम्बद्ध सबैलाई कुनै न कुनै रूपले कमजोर बनाएको छ । त्यस इतरका राजनीतिक शक्तिलाई बलियो बनाएको छ । उनीहरूलाई नयाँ अवसर प्राप्त भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय