काठमाडौँ । नेकपा माओवादी छोडेर नेकपा एमालेमा प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा बादलको राष्ट्रिय सभाको सांसद पद गुमेको छ ।माओवादी केन्द्रले गृहमन्त्री थापालाई कारवाही गर्दै पार्टीबाट निष्काशित गरेको पत्र संसद सचिवालयमा पठाएपछि उनको सांसद पद रिक्त भएको हो ।थापालाई कारवाही गरिएको पत्र चैत्र २७ गते राष्ट्रिय सभामा माओवादी केन्द्रका नेता दीनानाथ शर्माले संसद सचिवालयमा बुझाएका थिए । सोहि पत्र अनुसार राजनीतिक दल सम्बन्धि ऐन, २०७३ को दफा ३५ को उपदफा २  तथा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १८६ को उपनियम (२) बमोजिम राष्ट्रिय सभाका अध्यक्षले स्वीकृत गरेको संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् ।योसँगै गृहमन्त्री थापाको संसद पद गुमेपछि मन्त्री पद पनि स्वत: रिक्त भएको छ । यसअघि माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार सांसदहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरीशंकर चौधरीको पद रिक्त भएपछि फेरी नियुक्त बह्येर शपथ गरेका थिए ।