काठमाडौं । नयाँ वर्षका दिन सर्ने भनिएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को पार्टी कार्यालय यही वैशाख ९ गते सर्ने भनिएको छ । त्यही दिन बल्खुमा नयाँ कार्यालय भवनको शिलान्यास गर्ने तयारी रहेको एमाले स्रोतले जानकारी दियो ।“तयारी नपुगेकाले वैशाख १ गते सर्न सकिएन । ९ गते सार्ने तयारी गरेका छौँ,” एमालेका एक पदाधिकारीले बाह्रखरीसँग भने, “त्यही दिन बल्खुमा पार्टी कार्यालय भवनको शिलान्यास पनि हुनेछ ।”एमालेको पार्टी कार्यालय पासाङल्याह्मु स्मृति भवन धुम्बाराहीबाट बबरमहलस्थित भाडाको घरमा सर्न लागेको हो । २०७२ वैशाख १२ र २९ गतेको भूकम्पले बल्खुको चारतले भवन खन्डहर तुल्याएपछि त्यही वर्ष साउन २३ गते धुम्बाराहीमा पार्टी कार्यालय सारिएको थियो
तीनपटक तोकियो शिलान्यासको मिति भूकम्पले पार्टी कार्यालय ध्वस्त बनाएपछि एमालेले बल्खुमै अत्याधुनिक भवन बनाउने भनेर समिति नै बनाएको थियो । भवन निर्माण समितिले भवनको डिजाइन तयार पारेर रकमसमेत उठाएको थियो ।भवन निर्माण गर्न पार्टी महासचिव ईश्वर पोखरेलको नेतृत्वमा सचिव योगेश भट्टराई, स्थायी कमिटी सदस्य शंकर पोखरेल, पोलिट्ब्युरो सदस्य परशुराम मेघी गुरूङ, विष्णु रिमाल, रवीन्द्र अधिकारी, सोमप्रसाद पाण्डे, हिक्मत कार्की, विनोद ढकाल, केदार सन्जेल, भरत पहाडी सदस्य रहेको कमिटी गठन गरेर तत्कालै शिलान्यास गर्ने भनिएको थियो ।
धुम्बाराहीमा भवन सारेपछि त्यसैलाई स्थायी कार्यालयजस्तो बनाइएको थियो । माओवादी केन्द्रसँग पार्टी एकता गरेको दुई वर्षपछि पार्टी कार्यालय आवश्यकता महसुस गरेर गत माघमा सम्पन्न केन्द्रीय कमिटी बैठकले १५ दिनभित्र पार्टी कार्यालय शिलान्यास गर्ने निर्णय गरेको थियो । लगत्तै कोभिड–१९ को कहर सुरु भएको भन्दै निर्णय बेवारिशे बनेको थियो ।सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले एकता रद्द गरिदिएपछि एमाले पार्टी कार्यालय शिलान्यास गर्न जुर्मुराएको हो ।










