पोखरा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.डिला संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी, अलोकतान्त्रिक राष्ट्रवादको नक्कली खोल पछिल्लो घटनाक्रमले उदांगो भएको बताएकी छन् । उनले प्रधानमन्त्री ओलीको राष्ट्रवादको मुकुण्डो भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलसँगको भेटपछि उदाङ्गो हुँदै गएको बताएकी हुन् ।सोमबार नेपाल प्रेस युनियनले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले राष्ट्रवादका ठूला–ठूला गफ गर्ने प्रधानमन्त्री ओलीले मध्यरातमा भारतीय गुप्तचर प्रमुखसँगको भेटपछि  नक्कली राष्ट्रवाद उदांगो भएको बताइन । नेतृ संग्रौलाले कोरोना संक्रमणसँगै आर्थिक अवस्था कमजोर भएका जनता गाँस, बास र कपास जस्ता आवश्यक सेवाबाट बञ्चित भएको बेलामा प्रधानमन्त्री केपी ओलीको सरकार बालुवाटारमै सीमित भएको आरोप लगाइन् । काँग्रेस पार्टीका सभापति शेरबहादुर देउवाले कम्युनिष्टले जितेमा हाँस्न रुन नै नपाइने बताउँदा खिसीट्युरी गरिएको स्मरण गर्दै उनले अहिले देशको अवस्था त्यस्तै रहेको टिप्पणी गरिन् ।

नेतृ संग्रौलाले सरकारमा बसेकाहरु पार्टीको आन्तरिक झगडामा रुमल्लिएको बताउँदै प्रतिनिधिसभा भंग भएपछि पनि प्रधानमन्त्री ओलीले नैतिकता नदेखाएको आरोप लगाइन् । ‘प्रधानमन्त्री ओलीले भंग गरेको संसदलाई सर्वोच्च अदालतले पुनःस्थापना गर्दा समेत प्रधानमन्त्री कुर्सीमै टाँसिए’ उनले भनिन् । ‘उहाँमा कुनै नैतिकता देखिएन । उहाँमा राजनैतिक नैतिकता भन्ने चिज नै हराएछ ।’नेतृ संग्रौलाले पाँच वर्ष देश चलाउन जनताले दिएको जनादेशलाई लत्याएर दुई तिहाईको सरकारले मुलुकलाई बन्दुक बनाएको आरोप लगाइन् ।  कम्युनिष्ट पार्टीको आन्तरिक झगडापछि काँग्रेसको नेतृत्वमा नयाँ सरकार बन्नुपर्ने आवाज उठेसँगै काँग्रेसले त्यो भूमिका निर्वाह गर्न लागेको उनले बताइन् ।नेतृ संग्रौलाले वर्तमान सरकारले हत्या हिंसा रोक्न नसकेको, महिला हिंसालाई नियन्त्रण गर्न नसकेको र पीडितले न्याय पाउन नसकेको बताइन् ।