काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी खुला राजनीतिमा आएसँगै पार्टीका आन्तरिक काममा व्यस्त छ । महासचिवसमेत रहेका विप्लव कपिलवस्तुमा केन्द्रित छन् ।सरकारले ०७५ फागुन २८ गते विप्लवको पार्टीमाथि प्रतिबन्ध लगाएको थियो । गत फागुनमा मात्रै सरकारले प्रतिबन्ध फुकुवा गरेको थियो । सरकारसँग विभिन्न तीनबुँदे सहमति भएपछि विप्लव सार्वजनिक भएका थिए । त्यसअघि उनी भूमिगत रहँदै आएका थिए ।सरकारसँगको सहमतिपछि विप्लव फागुन २० गते सार्वजनिक भएका थिए । त्यसपछि विप्लवले प्रधानमन्त्री केपी ओलीलाई पटक–पटक भेटिसकेका छन् । यसक्रममा उनले गृहमन्त्री रामबहादुर थापा ‘बादल’, मोहन वैद्य ‘किरण’, पूर्वसभामुख कृष्णबहादुर महरालगायतले भेटिसकेका छन् ।

तर उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भने भेट गरेका छैनन् । विप्लवले पार्टीले तोकेकाबाहेक अन्य नेताहरुलाई मिडियासँग नबोल्न निर्देशनसमेत दिएका छन् ।विप्लवले प्रचण्डसँग नभेट्नुलाई माओवादी पार्टीभित्र चासोका साथ हेरिएको छ । विप्लव समूहका एक नेता भन्छन्,“प्रचण्डबाट खबर आयो आएन जानकारी छैन । तर विप्लव कमरेडले प्रचण्डलाई भेट्ने कुरामा रुची देखाउनु भएको छैन ।”