गृहमन्त्री रामबहादुर थापालाई नेकपा (माओवादी) केन्द्रले कारबाही गरेपछि राष्ट्रिय सभामा एक पद रिक्त छ । राष्ट्रिय सभाको रिक्त पदमा ३५ दिनभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।
सोही अनुसार निर्वाचन आयोगले जेठको पहिलो साताभित्र निर्वाचन गर्नुपर्ने प्रस्ताव गृहमन्त्रालयमा पठाएको छ ।
“३५ दिनभित्र निर्वाचन गर्नुपर्ने हुन्छ । सोही अवधिभित्र निर्वाचन हुन्छ । आयोगले जेठ पहिलो सातामा गर्न गृहमार्फत् प्रस्ताव गरेको छ,” आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने ।
निर्वाचनको मिति गृहमन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले तय गर्नेछ ।
गृहमन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार निर्वाचनको मितिका विषयमा गृहमा छलफल भइरहेको छ ।
“निर्वाचनको मितिका लागि मन्त्रिरिषदमा प्रस्ताव लैजानुपर्ने हुन्छ । कहिले गर्ने भन्ने प्रस्तावका लागि छलफल भइरहेको छ,” उनले भने ।
माओवादीले बादलले दल त्याग गरेको जानकारी संसद् सचिवालयलाई गराएको थियो । सोही जानकारी अनुसार गत वैशाख ५ गते संसद् सचिवालयले सूचना टाँस गरेसँगै राष्ट्रिय सभाको पद रिक्त भएको थियो ।
-बाह्रखरी बाट



