नेपालको पहिलो फिल्म ‘आमा’लाई मान्ने कि ‘सत्य हरिश्चन्द्र’लाई मान्ने लामो समयदेखि विवाद रहँदै आएको छ । पञ्चायत आफैंले बनाएकोले ‘आमा’लाई नेपालको पहिलो फिल्मको रुपमा स्थापित गरिएको छ । यसका मुख्य कलाकार शिवशंकर मानन्धर र भुवन चन्दलाई नेपाली फिल्मको प्रथम नायक नायिकाको रुपमा सम्बोधन गर्ने गरिएको छ ।

उहीँ ‘सत्य हरिश्चन्द्र’लाई भने नेपाली भाषाको पहिलो फिल्मको रुपमा मात्र इतिहासमा उल्लेख गर्ने गरिएको छ । अझ कतिपय लेखकले त ‘सत्य हरिश्चन्द्र’ डीबी परिहारले बनाएको नै हैन भन्नेसम्मका तर्क पनि गरेका छन् । उनले कदाचित बनाएको भए पनि नेपालमा केही पनि प्राविधिक काम नेपालमा नगरेको र कलाकार पनि भारतीय नै रहेकाले यसलाई पहिलो नेपाली फिल्म मान्न नहुने आवाज पनि उठ्ने गरेको छ ।

अझ पछिल्लो समय त यसको अस्तित्वलाई लिएरसमेत प्रश्न उठ्न थालेका थिए । अर्थात् यो फिल्म बनेकै छैन कि भन्नेसम्मका कुरा पनि उठेका थिए । तर, नारायणहिटी संग्रहालय भित्र रहेको सिनेमा हल भित्र यो फिल्मको रिल भेटिएको छ । संग्रहालयले दरबार भित्रको हल सर्वसाधारणका लागि खोल्ने निर्णयसँगै त्यहाँ रहेका फिल्मको लिस्ट हेर्दा त्यसमा ‘हरिश्चन्द्र’ पनि देखिएको छ ।

नारायणहिटी संग्रहालयका निर्देशक भेषनारायण दाहालले सूचीमा ‘हरिश्चन्द्र’ देखिए पनि त्यो कुन ‘हरिशचन्द्र’ हो त्यसको निक्र्योल गर्ने काम चलचित्र विकास बोर्डलाई नै दिन लागेको जानकारी गराए ।

‘चलचित्र विकास बोर्डको अध्यक्ष दयाराम दाहाल आएर अस्ति हेरेर जानु भएको छ । यो ‘हरिश्चन्द्र’ चैं सेन्सेटिभ छ, नचलाउनुस् है भन्नु भएको छ । त्यो मात्रै हैन हामीले फिल्मको पुरै काम उहाँहरूलाई जिम्मा लगाउने सोचिरहेका छौं,’ दाहालले भने, ‘सरकारसँग बजेटको कुरा भइरहेको छ । त्यो निकासा हुने बित्तिकै मैले हलको सबै कुरा उहाँहरू जिम्मा दिन्छु ।’

यता चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहालले पनि दरबार भित्र भएका सिनेमाको सूचीमा ‘हरिश्चन्द्र’ देखेको पुष्टि गरे । तर, सूचीमा फिल्मको नाम ‘राजा हरिश्चन्द्र’ र रिलमा ‘हरिश्चन्द्र’ मात्र रहेकाले त्यो नेपाली भाषामा बनेको भनिएको ‘सत्य हरिश्चन्द्र’ हो कि हिन्दीमा बनेको ‘राजा हरिश्चन्द्र’को नेपाली डब हो ठम्याउन कठिन रहेको बताए । ‘लगतमा एउटा नाम र रिलमा अर्कै नाम छ । यसले दुविधा बनायो । हामीले यसलाई प्राथमिकतामा राखेर डिजिटाइज गर्छौं र रेस्टोर गर्छौं त्यसपछि मात्र कुन फिल्म रैछ भन्न थाहा हुन्छ,’ अध्यक्ष दाहालले भने ।


दरबार भित्र रहेको सिनेमा हल

चलचित्र विकास बोर्डका सूचना तथा आर्काइभ अधिकृत चिरञ्जीवी गुरागाइँले लगतमा फिल्मको निर्मातामा दार्जिलिङको नाम रहेकाले यो डीबी परिहार निर्देशित फिल्मनै हुन सक्ने अडकल लगाए । किनकि डीबी परिहार पछिल्लो समय दार्जिलिङमा नै बसेर कलाका विभिन्न गतिविधिमा संलग्न थिए । योबाहेक राजा वीरेन्द्र स्वयं राजाले डीबी परिहारसँगै मगाएर विसं २०२९ सालमा यो चलचित्र हेरेको विभिन्न लेखमा चर्चा गरिएको छ ।

यसैबीच नारायणहिटी संग्रहालय भित्र रहेको सिनेमा हल तत्काल सञ्चालन नहुने भएको छ । दरबार भित्र रहेका फिल्म तथा डकुमेन्ट्री डिजिटाइजेसन र रेस्टोरेसन नगरी चलाउन नमिल्ने भएकाले तत्काल फिल्म देखाउने काम सम्भव नभएको हो ।

अघिल्लो महिना मात्र संग्रहालयले वैशाखदेखि सर्वसाधारणका लागि दरबारमा संग्रहित सिनेमा देखाइने घोषणा गरेको थियो । संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले दरबारभित्र रहेका फिल्मका रिल जीर्ण अवस्थामा रहेकाले आफूले भनेकै समयमा सुरु गर्न नसकिने जानकारी गराएका छन् ।

‘हामीलाई थोरैतिना सफा गरेर फिल्म देखाउन सकिन्छ भनिएको थियो । सोही अनुसार वैशाखदेखि फिल्म देखाउन सकिन्छ भनेर भनियोे तर रिल जीर्ण अवस्थामा रैछन् । विज्ञसँग सल्लाह गर्दा ती रिललाई डिजिटाइज गरेर मात्र चलाउन सकिनेरैछ,’ दाहालले इकागजसँग भने, ‘अब हामी डिजिटाइज गरेर मात्र सिनेमा हल खोल्छौं ।’

राजदरबारका सदस्यलाई फिल्म देखाउने अभिप्रायले दरबारले विसं २०२६ सालमा सिनेमा हल तयार गरेको थियो । १ सय १६ सिट क्षमता रहेको सो हल राजदरबार हत्याकाण्न्ड नहुन्जेलसम्मसञ्चालनमा थियो ।


दरबारमा संग्रहित सिनेमाका रिल 

संग्रहालयका कर्मचारीका अनुसार शुक्रबारका दिन राजपरिवारले हलमा बसेर सिनेमा हेर्ने गरेको थियो अब भने संग्रहालयले चलचित्र विकास बोर्डसँगै मिलेर दरबारमा संरक्षित फिल्मलाई डिजिटाइज गर्ने जनाएको छ । कार्यकारी निर्देशक दाहालले सरकारसँग बजेट माग गरेर डिजिटाइजेसन प्रक्रिया अगाडि बढाउने जानकारी गराए ।

‘यो विषयमा विकास बोर्डले काम गरिरहेको रैछ । विज्ञता पनि छ । सरकारसँग बजेट माग गरिरहेका छौं । कति पैसा आउँछ त्यही अनुसार डिजिटाइज गरेर हल खोल्छौं,’ दाहालले भने । संग्रहालयले आन्तरिक बजेट निकासा गरेर भए पनि फिल्म डिजिटाइज भने गरिछाड्ने बताए ।

यता चलचित्र विकास बोर्डले भने संग्रहालयलाई डिजिटाइजेसनका लागि लाग्ने बजेटको खाका पठाइसकेको छ । विकास बोर्डमा डिजिटाइजेसनको सम्पूर्ण काम हेरिरहेका सूचना तथा आर्काइभ अधिकृत चिरञ्जीवी गुरागाईँले नीतिगत प्रक्रिया फटाफट सल्टाउँदा पनि डिजिटाइजेसन गर्न १ वर्षभन्दा बढी समय लाग्ने बताउँछन् ।
‘नीतिगत कुरा सल्टाएर साँच्चिकै काम सुरु गर्दा पनि १ वर्षभन्दा अगाडि डिजिटाइजेसन सकिँदैन । विकास बोर्डलाई २५ वटा फिल्म डिजिटाइज गरेर रेस्टोर गर्दा लगभग दुई वर्ष लागेको थियो,’ गुरागाईंले भने ,‘दरबारमा पनि रिलको अवस्था नाजुक नै रैछ । १ वर्ष त कम्तीमा लाग्छ ।’

चलचित्र विकास बोर्डले २०७५ सालको भदौदेखि डिजिटाइजेसन प्रक्रिया सुरु गरेको थियो । १० वटा फिचर फिल्म र १५ घन्टाको डकुमेन्ट्रीको काम सक्न भारतको चेन्नईस्थित प्रसाद ल्याबलाई लगभग दुई वर्ष लागेको थियो । केही समयअघि मात्र ल्याबले बोर्डलाई १० वटा फिचर फिल्म बुझाइसकेको छ ।

यसमध्ये दुई फिल्म ‘आमा’ र ‘कुमारी’ बोर्डले महिला दिवसको दिन प्रदर्शनसमेत गरिसकेको छ । यी बाहेक बोर्डले ‘जीवन रेखा’, ‘के घर के डेरा’, ‘सिन्दुर’, ‘बदलिँदो आकाश’, ‘मनको बाँध’, ‘शान्तिदीप’, ‘हिजोआज भोलि’ र ‘परिवर्तन’लाई डिजिटाइज गरिसकेको छ । चिरञ्जीवीका अनुसार एउटा फिल्म डिजिटाइज गरेर रेस्टोरेसनसमेत गर्दा ११ लाख हाराहारी खर्च आउँछ ।

दरबारमा कति फिल्म र डकुमेन्ट्री छन्, सम्पूर्ण लगत निस्किसकेको छैन । तर, चिरञ्जीवी दरबारमा रहेका क्यानको संख्या हेर्दा ३०÷३५ फिल्म रहन सक्ने अनुमान गर्छन् । ‘पहिला औसतमा अढाई घन्टाका फिल्म बन्थे र एउटा रिलमा १६ देखि २० क्यान हुन्थे । फिल्म संग्रहित कोठामा ५ सय जति क्यान छन् । यस हिसाबले हेर्दा ३०÷३५ फिल्म तथा डकुमेन्ट्री होलान् भन्ने मेरो अनुमान छ ,’ उनले भने ।

दरबार भित्रको हलमा नेपाली भाषामा सबैभन्दा पहिले बनेको भनिएको ‘राजा हरिश्चन्द्र’को पनि रिल भेटिएको छ । तर, यो डीबी परिहार निर्देशित ‘सत्य हरिश्चन्द्र’ हो कि हिन्दी ‘सत्य हरिश्चन्द्र’ हो लगतमा उल्लेख छैन ।

यीबाहेक शाही चलचित्र संस्थानले बनाएका फिल्म ‘मनको बाँध’ ,‘कुमारी’ ‘जीवनरेखा’ आदि फिल्म पनि दरबारको लगतमा देखिएको छ । तर, ‘मनको बाँध’ ,‘कुमारी’ ‘जीवनरेखा’ जस्ता फिल्म चलचित्र विकास बोर्डले पहिले नै डिजिटाइज र रेस्टोरेसन गरिसकेको छ ।

-इकागज बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah