दाङमा शनिबार राति दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्थित स्याउली बजारमा पार्किङ गरेको भारतीय नम्बरको गाडीमा भेटिएका बालकको शवको पहिचान भएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार मृतक तुलसीपुर उपमहानगरपालिका–६ गाइडरका हुन् ।
सिंहका अनुसार मृतक बालकहरुद भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश, सन्तोष परियारका ७ वर्षीय छोरा सुवर्ण र किरण परियारका ७ वर्षीय छोरा करण रहेका छन् ।
करिब ३ महिनादेखि त्यस ठाउँमा पार्किङ गरिराखिएको आरजे ०१ ०१६६०८८५ नम्बरको कारभित्र शनिबार राति तीन बालकोको शव भेटिएको थियो ।
प्रहरीका अनुसार उक्त भारतीय गाडी २०७६ चैतमा तुलसीपुर–६ का ३३ वर्षीय यादवप्रसाद गैरेले नेपाल ल्याएको र गत माघ १ गतेदेखि सो स्थानमा पार्किङ गरी राखिएको थियो ।
गाडी मालिक गैरे र चालक पदम बस्नेतलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए ।
तीनै बालकको शव स्थानीय अस्पतालमा राखिएको छ । शवको पोष्टमार्टम रिपोर्टपछि घटनाका विषयमा केही खुल्न सक्ने प्रहरीको भनाइ छ ।
-फरकधार बाट



