मुख्य खबर

कार भित्र मृत भेटिएका ३ बच्चाको शव सनाखत भाको छैन, चार दिनदेखि अस्पतालमै


  काठमाडौं   सवालनेपाल   २०७८ बैशाख २१, १९:४२

वैशाख १८ गते एउटै कार भित्र मृत अवस्थामा फेला परेका तीन बालकको शव मंगलवार सम्म अस्पतालमै छ ।

चारदिन बितिसक्दा पनि अभिभावकले शव बुझ्न नमाने पछि तीन बच्चाको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्याउली बजारमा पार्किङ गरि राखेको भारतीय नम्बर प्लेट आरजे ०१ सिसी ०८८५ नम्बरको कारभित्र तीन बच्चाको शब फेला परेपछि उनीहरुको सामुहिक हत्या भएको आशंका गर्दै अभिभावकले सत्य तथ्य पत्ता लगाई सार्वजनिक नगर्दा सम्म शव नबुझ्ने अडान लिदै आएका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले पीडित पक्ष संग बुधवार फेरि क्षतिपुर्ती लगाएतका बारेमा छलफल हुने जानकारी दिए ।
उक्त छलफलमा पीडित अभिभावक,तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे, तुलसीपुर नगरका कार्यपालिका सदस्य तथा राष्ट्रिय दलित आयोगका केन्द्रीय अध्यक्ष देबराज बिश्वकर्मा, प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेल, जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्द र आफुपनि सहभागि रहने डिएसपी सिंहले बताए ।

उक्त इण्डियन नम्बर प्लेटको कार कारभित्र तुलसीपुर ६ बरुवाउँ निबासी भीमबहादुर परियारका छोरा ९ वर्षीय सन्दीप परियार, सन्तोष परियारका छोरा ७ वर्षीय सुवास भनिने सुवर्ण परियार र किरण परियारका छोरा ६ वर्षीय करण परियार मृत अवस्थामा फेला परेका थिए ।

प्रहरीले घटना अनुसन्धान गर्न बाँकेबाट तालिम प्राप्त कुकुर र प्राबिधिक झिकाएको थियो भने शवको पोष्ट मार्टमका लागि बुटवलबाट बिशषेज्ञ डाक्टर झिकाएको थियो ।
पोष्टमार्टमा रिपोर्टले बालकको कतब्र्य गरि हत्या गरिएको नदेखिएको प्रहरीले जनाएको छ ।

‘ तीनै जना बालकको शरिरमा कुनै चोट पटक नदेखिएको हुँदा कतब्र्य गरि हत्या गरेको देखिएन भन्ने कुरा चिकित्सकको रिपोर्टमा उल्लेख छ,’ डिएसपी सिंहले भने ।

तर, रिपोर्टमा एक जना बालकको टाउकोको पछाडि पट्टीको भागमा सानो टुटुल्को देखिएको भएपनि त्यसले गर्दा मात्रै मृत्यु हुन नसक्ने कुरापनि पोष्टमार्टम रिपोर्टमा उल्लेख रहेको जानकारी डिएसपी सिंहले दिए ।

चिकित्सकले त्यो टुटुल्को गाडी भित्र बालक ठोक्किएर पनि लागेको हुनसक्ने संभावना पनि रिपोर्टमा औंल्याएका छन् ।

पोष्टमार्टम रिपोर्टमा चिकित्सकले लास सडी गलेको हुँदा बिषादी सेवन वा अन्य त्यस्तै कारणले मृत्यु भएको हो रु होईन भनेर अनुसन्धान गर्न समस्या भएको सल्लाह अनुसार चिकित्सकको सल्लाहमा भिसेरा परीक्षणको मंगलवार नै काठमाडौं पठाइएको डिएसपी सिंहले बताए ।

मृत्यु भएको २४ घन्टा भन्दा पछाडि बिषादी सेवन लगाएतका कारण पत्ता लगाउन नसकिने कुरा चिकित्सकको सल्लाह अनुसार तीन वटै शवहरुको भिसेरा परीक्षणका लागि काठमाडौं पठाउनु परेको सिंहले जानकारी दिए ।

प्रहरीले बैशाख १८ गते घटनाको दोस्रो दिन कार धनी तुलसीपुर ६ स्याउली बजार बस्ने ३३ बर्षीय यादवप्रसाद गैरे र सोही वडा बस्ने ५७ बर्षीय चालक पदमबहादुर बस्नेतलाई प्रहरीेल पक्राउ गरि ज्यान मुद्दा चलाएर अनुसन्धान थालेको छ ।

चालक बस्नेत र गाडी धनि गैरेले माघ १ गते आफूहरूले उक्त कार लक गरि पार्किङमा राखेको हुँदा घटनाबारे अनभिज्ञ रहेको प्रहरीसमक्ष बयान दिएको प्रहरीले जनाएको छ ।
-लोकपथ बाट

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु