भारतको मुम्बईमा पाइलटले बिहीबार राति उड्दा-उड्दै पांग्रा खसेको एउटा जहाजलाई सफल अवतरण गराएका छन्।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार बिरामी बोकेको एयर एम्बुलेन्स नागपुरबाट हैदरावाद जाँदै थियो। जहाजमा दुई जना क्रु मेम्बर, एक जना बिरामी, एक जना बिरामीका आफन्त र एक जना डाक्टर थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जेट सर्भ एभिएसनले चलाएको सी-९० भिटी-जेआइएल जहाजको टेकअफ हुनासाथ एउटा पांग्रा निस्किएको थियो। त्यसपछि पाइलटले आकस्मिक अवतरणका लागि जहाज मुम्बईतिर मोडेका थिए।

मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा आकस्मिक अवतरणको तयारी गरिएको थियो। अवतरणका क्रममा जहाजमा आगो नलागोस् भनेर धावनमार्गमा फोम बिछ्याइको थियो। पाइलटले ल्यान्डिङ गियर नखोलीकनै 'बेली ल्यान्डिङ' गराएका थिए।

https://twitter.com/HardeepSPuri/status/1390349531884134400

राति ९ बजेर ९ मिनेटमा जहाजको विमानस्थलमा सफल अवतरण गरिएको थियो। जहाजमा रहेका सबैजना सुरक्षित छन्। बिरामीलाई मुम्बईको एक अस्पतालमा भर्ना गरिएको छ।

भारतका केन्द्रीय नागरिक उड्डयन मन्त्री हरदीपसिंह पुरीले उक्त जहाजलाई सफलतापूर्वक अवतरण गराउने क्याप्टेन केशरी सिंहको प्रशंसा गरेका छन्।