अस्पतालको गेट अगाडि नै एम्बुलेन्स थियो । एम्बुलेन्सभित्र एक वृद्ध सास फेर्न गाह्रो भएर छट्पटाइरहेका थिए । बृद्धका आफन्तहरु डाक्टरलाई गुहारदै थिए । डाक्टरहरु भने पीसीईलगायतका स्वास्थ्य सामग्री लगाउने तयारीमा थिए ।

किनभने उक्त बृद्ध कोरोना संक्रमित हुन् । सास फेर्न गाह्रो भएर छट्पटाइरहेका ती वृद्धको करिब दुई/तीन घण्टापछि एम्बुलेन्समै ज्यान गयो । केहीदिन अघि पोखराको ओम अस्पतालमा गरिएको कोरोना परीक्षणमा उनमा संक्रमण पुष्टि भएको थियो ।
त्यसपछि उनी भानु नगरपालिका–१ मा रहेको आफ्नै घरमा होम आसोलेसनमा बसेका थिए । होम आइसोलेसनमा बसेका उनको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार मध्यराति एम्बुलेन्स खोजेर छिमेकीले दमौली अस्पताल पठाएका थिए ।

तर, अस्पतालले संक्रमित व्यक्तिको अवस्था सामान्य रहेको भन्दै उनलाई भर्ना लिन मानेन । केही दिनको लागि भएपनि अस्पतालमा राख्न आग्रह गर्दासमेत नमानेको मृतककी श्रीमती मीनाकुमारी श्रेष्ठले बताइन् ।

उनले भनिन्, ‘अस्पतालमै एक÷दुई दिनलाई भएपनि राख्न गुहार मागेका थियौं । तर अस्पतालका चिकित्सककले एक सेकेन्ड पनि राख्न मिल्दै भन्दै घर पठाए ।’ उनले अगाडि भनिन्, ‘त्यसपछि हामीले राति नै घर फर्कियौ । तर फेरि गाह्रो भएपछि आइतबार अस्पताल लिएर आएका थियौ ।’

दोस्रो पटक पनि भर्ना गर्न खोज्दा लिन नमानेको उनको गुनासो छ । ‘पहिले राम्रो छ भनेर भर्ना नलिएको अस्पतालले यस पटक अवस्था खराब छ भनेर लिन मानेन’, मृतकका साली रुपा थापाले भनिन्, ‘बिरामीले गाह्रो हुँदा भर्ना नै हुन नपाउने हो भने किन चाहियो अस्पताल ?’

कोरोना संक्रमणको बेला पूर्व तयारी नगरी अस्पतालमा चिकित्सक बस्नु लापरबाही रहेको आफन्तको भनाइ छ । संक्रमितले समयमा नै उपचार नपाएर मुत्यु भएपछि आफान्तले अस्पताल अगाडि र जिल्ला प्रशासन अगाडि नाराबाजी गरेका थिए ।

यता दमौली अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सुनिल पौडेलले भने आफूहरुकहाँ खबरै नगरी आएकाले बिरामीलाई उपचार दिन नसकिएको बताउँछन् । उनले भने, ‘हाम्रो तर्फबाट कुनै कमजोरी छैन । पूर्व जानकारी बिना ल्याइएकाले अस्पताल भर्ना गर्न नसकिएको र पोखरा रिफर गरेका हौं ।’

उनले थप भने, ‘पहिल्यै खबर गरेर आएको भए आवश्यक तयारी गर्न सकिन्थ्यो ।’ चारवटा भेन्टिलेटर र सात आईसीयू तथा २० वटा अक्सिजन सिलिन्डरसहितको आइसोेलेसन भएको अस्पतालमा भर्ना नै गरिएन ।

तर आफन्त भने संक्रमित बिरामी भर्ना नै नलिने अस्पतालको नियत रहेको बताउँछन् । डा. पौडेलले भने आफूहरुले भर्ना लिँदा उपचार दिनसक्ने अवस्था बिरामीको नभएकाले समस्या भएको बताउँछन् ।

उनले भने, ‘यहाँ ल्याउदाँसम्म उहाँको अवस्था निकै नाजुक थियो । एक चिकित्सकले परीक्षण गर्दा उहाँको अवस्था जटिल रहेको र यहाँ उपचार नहुने देखिएकाले रिफर गरेका हौं ।’

यस घटनामा अनुसन्धान हुनुपर्ने आफन्तको माग छ । नेपाली सेनाले हिन्दूहरुको परम्परा अनुसार सोही दिन संक्रमितको दमौलीको घाटमा अत्येष्टि गरिदिएको छ ।
-न्युज२४टि.भि

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय