ज्याला मजदुरी गरेर दैनिकी चलाउँदै आउनुभएका ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवाका थोक्तेन शेर्पालाई कोभिड–१९ को सङ्क्रमणका कारण निषेधाज्ञा शुरु भएपछि कसरी घर खर्च जुटाउने भन्ने चिन्ता थियो । दैनिकजसो ज्यालादारी गर्दै आउनुभएका शेर्पालाई बन्दाबन्दीले काम नै पाउन छाडेपछि मनमा खटपट थियो । उहाँलाई जस्तै स्थानीयवासी कालुमाया विकलाई समेत बिहान बेलुकाको छाक कसरी टार्ने भन्ने चिन्ता थियो । निषेधाज्ञा भएपछि शेर्पा र विकलाई मात्रै होइन, यहाँका निम्न आयस्तरका सबैलाई उस्तै पिरलो थियो तर निषेधाज्ञा शुरु भएको केही दिनमा नै गाउँमा प्रधानमन्त्री स्वरोजगारको कार्यक्रम शुरु भएपछि भने उहाँहरूलगायत गाउँभरका मानिसालाई राहत मिलेको छ । बजार क्षेत्रमा पनि काम नपाइने र घरैमा बसिरहँदा पनि खर्च कताबाट जुटाउने भन्ने समस्यामा रहेका स्थानीयवासी अहिले गाउँमा सडक निर्माणमा जुटेका छन् । मास्कको प्रयोग गरी सामाजिक दूरी कायम गर्दै प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत सडक निर्माणमा उनीहरू जुटेका हुन् । हाङ्देवा क्षेत्रका विभिन्न कच्ची सडक खण्डमा समूह समूह भएर सोलिङ गर्नेलगायत काममा स्थानीयवासी १२ भन्दा बढीले अहिले काम गरिरहेका छन् । विगतमा सम्पन्न भएको काममा लागेका र थप भएका काममा खटिएका गरी २५० भन्दा बढीले रोजगार पाएका छन् । पुरुषले ढुङ्गा फुटाउने र सोलिङ बनाउने काम गरिरहेका छन् भने महिलाले ढुङ्गा जम्मा गर्ने, ओसार्ने जस्ता काम गरिरहेका छन् । निषेधाज्ञा हुनुअघि प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत सडकको स्तरोन्नति गर्ने योजना सम्झौता भएको र लगत्तै गाउँमा बेरोजगार फर्म भरेकालाई काममा लगाइएको वडाध्यक्ष तारा बरालले बताउनुभयो । “जो दैनिक काम नगरी बिहानबेलुका खाने कुरा जुटाउन सक्दैनन् उनीहरूलाई स्वास्थ्यका मापदण्डसहित काममा लगाएका छौँ”, अध्यक्ष बरालले भन्नुभयो । यो बेला गाउँका सर्वसारधणको स्थिति हेर्दा सङ्क्रमणको जोखिमलाई हेरी स्वास्थ्य सुरक्षासहित रोजगारी दिनुपर्ने बाध्यता बनेको उहाँको भनाइ छ । कतिपय बेरोजगार फर्म नभरेका निम्नस्तरका पनि सहभागी छन् । उनीहरूले काम गर्ने इच्छा देखाएकाले काममा लगाइएको बताइएको छ । सङ्क्रमणले बन्दाबन्दी भएपछि रोजीरोटी गुमेका बेला गाउँघरमै काम पाउँदा स्थानीयवासी पनि खुशी छन् । कामदारले दैनिक रु ५१७ पाउँछन् । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत विनियोजित २८ लाखको लागतमा सैसले भुटाने चोक हुँदै गढी जाने सडक खण्ड, आसाङपाटी बैधारे हुँदै मित्लुङ जाने सडक र चिहानडाँडा दुवै सडक खण्डको स्तरोन्नतिलगायत काम भइरहेको बताइएको छ । –––
प्रधानमन्त्री स्वरोजगार कार्यक्रमले सर्वसाधारणलाई राहत
रासस संवाददातामंगलबार, ४ जेठ २०७८

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमले सर्वसाधारणलाई राहत
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
शारीरिक अपाङ्गता भएकाहरू स्वरोजगार बन्दै

यो पनि पढ्नुहोस् »
झापामा छ महिनामा पाँच सय ३२ नयाँ घरेलु तथा साना उद्योग दर्ता
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

शारीरिक अपाङ्गता भएकाहरू स्वरोजगार बन्दै
सोमबार, १५ माघ २०८१
झापामा छ महिनामा पाँच सय ३२ नयाँ घरेलु तथा साना उद्योग दर्ता
शनिबार, १३ माघ २०८१
मलेसिया गएका झापा भद्रपुरका ५५ वर्षीय चन्द्र लिम्बू अलपत्र, स्वदेश फिर्ताका लागि सबै समक्ष हारगुहार
शुक्रबार, १५ असार २०८१
जनताले दिए भोट, तर जनप्रतिनिधी बिदेश गए कमाउन नोट
सोमबार, ४ असार २०८१
ज्येष्ठ नागरिक तथा आपाङ्गमैत्री बस सञ्चालन
शनिबार, २ असार २०८१



