दमक/जननिर्वाचित संसद असमयमै पुन विघटन गरिएको विरोधमा नेपाल विद्यार्थी संघ झापाले आज ( आइतबार) साँझ जारी निषेधाज्ञा तोडदै दमक र विर्तामोडमा राँके जुलुश प्रदर्शन गरेको छ ।

मन्त्रीपरिषदको सिफारिसमा ७ जेठको मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर मध्यावधी निर्वाचन तोकेको बिषयमा असन्तुष्टी जनाउँदै नेविसंघका कार्यकर्ताहरुले निषेधाज्ञाको समयमा पनि सांकेतिक विरोध प्रदर्शन गरेका हुन । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिनुपर्नेमा मध्यावधी चुनाव घोषणा गरेर संविधानको मर्म र भावनामाथि खेलबाँड गरेका कारण लोकतन्त्रवादी बिद्यार्थी लोकतन्त्र र संविधानको रक्षाका लागि निषेधाज्ञाका बाबजुद सडकमा उत्रिनु परेको नेविसंघ झापाका कोषाध्यक्ष नवराज ढकालले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विर्तामोडमा भएको प्रदर्शनपछि नेविसंघ झापाका अध्यक्ष राजेन्द्र उप्रेतीले सम्बोधन गरेका थिए भने दमकको क्याम्पसमोडदेखि कांग्रेसको पार्टी कार्यालय अगाडी सम्म भएको प्रदर्शनमा कोषाध्यक्ष ढकाल, जिल्ला सदस्यहरु विशाल अधिकारी, सहदेव भट्टराई, मणि लिम्बु लगायत सहभागी थिए । प्रहरीको अवरोधका बाबजुद सांकेतिक राँके जुलुस प्रदर्शन गरिएको नेविसंघले जनाएको छ ।