नेपाली कांग्रेससहित विपक्षी गठबन्धनले आज संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा नेकपा एमालेका नेता माधवकुमार नेपालले हस्ताक्षर गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आपत्ति जनाएका छन्।

उनले संयुक्त विज्ञप्ति पोस्ट गर्दै अनाधिकृत कार्य भनेका छन्। उनले उक्त विज्ञप्तिमा नेता नेपालको हस्ताक्षर अनाधिकृत रहेको दाबी गरेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘अनाधिकृत कार्य- विघटित प्रतिनिधि सभामा विपक्षी दलका नेता शेरबहादुर देउवासहितले जारी गरेको वक्तव्यमा माधवकुमार नेपालकाे हस्ताक्षर अनाधिकृत छ,’ आज ट्वीट गर्दै उनले भनेका छन्।

उक्त विज्ञप्तिमा नेकपा एमालेका वरिष्ठ नेता नेपाल लेखिएको छ। तर नेपाल एमालेको वरिष्ठ नेता नभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको भनाइ छ।

‘नेकपा (एमाले) मा वरिष्ठ नेताको दर्जामा उहाँ हुनुहुन्न र हस्ताक्षर गर्दै हिँड्न सम्बन्धित दलले कहिल्यै खटाएको पनि छैन। अझै विधि र पद्धति!,’ उनले भनेका छन्।

केहि समयअगाडि बसेको एमाले स्थायी कमिटी बैठकले नेता नेपाललाई पार्टीबाट निस्कासन गरेको थियो।

देउवालाई प्रधानमन्त्री बनाउन नेता नेपालसहित उनी पक्षका सांसदले हस्ताक्षर गरेका थिए।

आज देउवा निवासमा विपक्षी गठबन्धनको छलफलपछि उनीहरूले संयुक्त रूपमा विज्ञप्ति निकालेर सरकारका असंवैधानिक कामको विरोध गर्ने उल्लेख गरेका थिए।