म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम निवासी ९६ वर्षीय वृद्धाले कोरोना भाइरसको संक्रमणलाई जित्न सफल भएकी छन् ।
दग्नामको कान्छी गाउँ घर भएकी इनरुपीदेवी पुनले गाउँपालिकाकै कोरोना अस्पतालमा उपचार गरी कोरोनाबाट निको भएकी हुन् । ७ दिनअघि कोरोना संक्रमणका कारण श्वासप्रश्वास, ज्वरो लगायतका समस्या देखिएपछि पुनलाई अस्पतालमा भर्ना गरिएको थियो ।
१ हप्ताको उपचारपछि पुनको स्वास्थ्यमा सुधार आएको र कोरोना संक्रमणमुक्त भएपछि उनलाई घर पठाइएको गाउँपालिकाको कोभिड–१९ अस्पतालका डा. सन्तोषप्रसाद बोहराले जानकारी दिए ।
‘उहाँलाई अक्सिजन लगाएरै स्वास्थ्यकर्मी सहितको टोलीले अस्पतालमा ल्याउनुभएको थियो, अस्पतालमा ल्याउँदा उहाँमा ६६ प्रतिशत मात्रै अक्सिजनको मात्रा थियो, एक सातासम्म हामीले सम्भव भएसम्मको विधिबाट उपचार गर्यौं, अहिले अक्सिजनको तह पनि ठीक छ, कोरोना परीक्षण गर्दा नेगेटिभ देखिएको छ, त्यसपछि उहाँलाई घर फिर्ता गरेका छौं,’ डा. बोहराले भने ।
अस्पतालसम्म ल्याइपुर्याउँदा मानिस चिन्न समेत छाडिसकेकी वृद्धा आमाले कोरोना संक्रमण जितेर निको भएपछि पहिलेकै जस्तो सामान्य अवस्थामा फर्किएका पुनका छोरा खिमबहादुर पुनले बताए । ‘अस्पतालको उपचारबाट हामी खुशी छौं, शुरूमा आमाले मलाई समेत चिन्नु हुँदैन थियो, उपचार गर्दै जाँदा चिन्न थाल्ने हुनुभयो, डाक्टर र स्वास्थ्यकर्मीले निरन्तर जाँच र हेरचाह गरेकामा हामी हर्षित भएका छौं,’ पुनले भने ।
कोरोना जितेर निको भएपछि वृद्धा पुनलाई गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले रोगप्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक विज्ञहरूबाट सिफारिस भएका औषधिहरू उपलब्ध गराएर बिदा गरेका थिए । सो अवसरमा पुनले अस्पतालको सेवा र उपचारको क्रममा निःशुल्क खाना खाजाको सुविधाबाट प्रभावित भएर सेवाकै लागि ७ हजार रुपैयाँ नगद समेत सहयोग हस्तान्तरण गरेका थिए । – कमल खत्री/रासस



