झापा । प्रदेश १ मा ७० हजार नागरिकलाई कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाइने भएको छ । जेठ आगामी मंगलबारदेखि १४ वटै जिल्लामा खोप लगाइने भएको हो । ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई कोभिड १९ विरुद्धको खोप लगाउने गरि १४ वटै जिल्लामा खोप पठाउने काम भईरहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका प्रमुख शम्भु शाहले जानकारी दिए । खोप कार्यक्रमका लागि सोमबार प्रदेश १ का सवै जिल्लामा खोप पुगिसक्ने र मंगलबारबाट खोप लगाउने काम शुरु हुने शाहले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश १ मा दुवै मात्राका लागि १ लाख ४० हजार ५०५ डोज खोप पठाएको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका अनुसार ताप्लेजुङमा ३,७०३, संखुवासभामा ४,४००, सोलुखुम्बुमा २,८८५, ओखलढुङ्गामा ४,२९१, खोटाङमा ४,८४८, भोजपुर ४,३४७, धनकुटामा ४,८५३, तेह्रथुममा २,८४६, पाँचथरमा ५,५८१, इलाममा ८,८६२, झापामा २६,४१९, मोरङमा ३१,१८५, सुनसरीमा २६,१३२, उदयपुरमा १०,१५१ डोज खोप पठाउने काम भईरहेको छ । शाहका अनुसार दुवै डोजका लागि खोप पठाईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कोभिड १९ विरुद्धको भेरोसेल खोप सरकारले निर्धारण गरेको मापदण्ड अनुसारका व्यक्तिहरुलाई मात्र लगाउन सामाजिक विकास मन्त्री उषाकला राईले निर्देशन दिएकी छिन् । विश्व स्वास्थ्य संगठनले भेरोसेल १८ वर्षमाथि जुनसुकै उमेर समूहले लगाउन मिल्ने भनेपछि पहिलो चरणमा प्राप्त खोप ६०–६४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई मात्र लगाउन सरकारले मापदण्ड बनाएकाले सोही अनुसार गर्न भनिएको उनले बताइन्। रातोपाटीबाट