काठमाण्डाै - एसईई आन्तरिक मूल्याङ्कनबाट गर्ने गरी सरकारले कार्यविधि सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कार्यविधिमा कुनै विषयमा ८० प्रतिशतभन्दा बढी प्राप्ताङ्क दिएमा अनिवार्य कारण खुलाउनुपर्ने व्यवस्था गरिएको छ । शिक्षकहरुले बढाइचढाइ अङ्क दिने प्रवृत्तिलाई रोक्न केही कसिलो प्रावधान राखिएको बोर्डले जनाएको छ ।

विद्यार्थीको मूल्याङ्कन गर्दा विद्यालयले सञ्चालन गरेको कक्षा १० को इकाई, त्रैमासिक, अर्धवार्षिक र अन्तिम परीक्षामा प्राप्त गरेको प्राप्ताङ्कहरु र विषय शिक्षकद्वारा कक्षामा गरिएको निर्माणात्मक मूल्याङ्कनको आधारमा अङ्क दिने व्यवस्था गरिएको छ । बोर्डकाअनुसार प्रयोगात्मक परीक्षाका लागि छुट्याइएको पूर्णाङ्कका आधारमा विद्यालयहरूले सञ्चालन गरेको प्रयोगात्मक परीक्षामा प्राप्त गरेको प्राप्ताङ्कलाई नै मानिने छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विद्यार्थीहरुको प्रयोगात्मक प्राप्ताङ्क चढाउँदा सम्बन्धित विद्यालयहरुले यस अगाडि नै प्रयोगात्मक परीक्षा सञ्चालन गरी शिक्षा विकास तथा समन्वय इकाईमा पठाएको विवरणअनुसार अङ्क चढाउनुपर्नेछ । प्रयोगात्मक अभ्यास हुने विषयतर्फ विद्यालयले यसअघि सञ्चालन गरिएको परीक्षाका आधारमा ५५ प्रतिशत अङ्क प्रदान गर्नेछ । २० प्रतिशत पूर्णाङ्कमा विषय शिक्षकले मूल्याङ्कन गर्नेछन् ।

प्रयोगात्मक अभ्यास नहुने विषयमा भने विद्यालयले लिएको परीक्षाको आधारमा ७५ प्रतिशत अङ्क दिन पाउनेछन् । कक्षा सहभागिता, कक्षाकार्य, परियोजना कार्य, गृहकार्य, सामुदायिक कार्य, अतिरिक्त क्रियाकलाप, प्रस्तुतीकरण, सामूहिक कार्य, लिखित तथा मौखिक इकाई परीक्षाहरू आदिको विद्यालयमा भएको रेकर्ड वा अभिलेखको आधारमा विषय शिक्षकले निर्माणात्मक मूल्याङ्कन गरी प्राप्ताङ्क विवरण तयार गरी प्रधानाध्यापकलाई पेस गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

असार अन्तिमसम्ममा सबै जिल्लाबाट अभिलेख आए त्यसको १५ दिनभित्र एसईईको अन्तिम नतिजा प्रकाशन गर्ने र प्रमाणपत्र जारी लगायतको काम गर्न सकिने बोर्डले जनाएको छ । कोरोनाका कारण गएको जेठ १३ गतेदेखि सञ्चालन हुने भनिएको एसईई स्थगित भएको थियो ।