काठमाडौं- रौतहटको मौलापुर नगरपालिकाको नगर सभामा दुई पक्षबीच झडप भएको छ। अहिले पनि दुई पक्षबीच ढुंगा हानाहान भइरहेको रौतहट प्रहरीले जनाएको छ।

बिहीबार पाँचौं नगर सभामा बजेट पेश गर्ने र विपक्षी पक्षबीच झडप भएको रौतहटका प्रहरी प्रमुख, एसपी भरत श्रेष्ठले बताए। उनका अनुसार झडपमा परेर तीन जना प्रहरी जवान घाइते भएका छन्। घाइते प्रहरीको टाउको र हातमा चोट लागेको छ। उनीहरुलाई उपचारका लागि स्वास्थ्य संस्था लगिएको एसपी श्रेष्ठले बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नगर सभामा नेकपा (एमाले)का नेता प्रभु साह प्रमुख अतिथिका रुपमा सहभागी थिए। मौलापुर नगरपालिकामा साहकी पत्नी रिनाकुमारी साह नगर प्रमुख छन्।

प्रहरीले झडप रोक्न १० सेल टियर ग्यास पनि प्रहार गरेको छ। भीड नियन्त्रणमा लिन टियर ग्यास प्रहार गर्नुपरेको एसपी श्रेष्ठले बताए। अहिले घटनास्थललाई चारैतिरबाट प्रहरीले घेरेपनि नियन्त्रणमा लिन भने सकेको छैन। दुवै पक्षकाहरुले अहिले पनि ढुंगामुढा प्रहार गरिरहेका छन्।