दमक / दमक नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/ ०७९ का लागि कुल १ अर्व ३८ करोड ४५ लाख ९९ हजार बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । चालु खर्च तर्फ रु ७० करोड ५९ लाख ९९ हजार र पुँजिगत खर्च तर्फ रु ६७ करोड ८६ लाख बजेट प्रस्ताव गरिएको छ ।
विहिबार नवौ नगरसभामा नगर उपप्रमुख गीता अधिकारीद्धारा सार्वजनिक नीति तथा कार्यक्रम सहितको बजेटमा खर्च व्यहोर्ने श्रोत तर्फ नगरपालिकाको आन्तरिक श्रोतबाट २८ करोड २३ लाख ६० हजार र दमक अस्पतालको आन्तरिक श्रोतबाट ११ करोड रकम व्यहोरीने उल्लेख छ ।
संघीय सरकारको अनुदान ७० करोड १७ लाख र प्रदेश सरकारको अनुदान २ करोड २३ लाख ८५ हजार प्राप्त हुने पनि बजेटमा उल्लेख छ। राजश्व वाँडफाडबाट २३ करोड ८१ लाख ५३ हजार र जन सहभागिताबाट र ४ करोड रकम व्यहोर्ने प्रस्ताव बजेटमा छ।
आन्तरिक श्रोत तर्फ आगामी आर्थिक बर्षका लागि कुनै पनि कर, दस्तुर, सेवा शुल्कको दर बृद्धि गरिएको छैन, अधिकारीले नगरसभामा भनिन् । कोरोना भाईरसको महामारीका कारण सिर्जना भएको असहज परिस्थितीवाट बिभिन्न पेसा र व्यवसायमा परेको असरलाई केही हदसम्म पूनरभरण होस भन्ने हेतुले छुट वा मिन्हा दिने प्रस्ताव गरिएको पनि उनको भनाई छ ।