कमल ( टुकुरे)/ दाताले दिएको खानेकुरा सम्म ओत लगाएर राख्ने घरको अभाव झेलिरहेकी कमल ५ टुकुरेकी एक जना असहाय तथा विपन्न महिलाको जीवनमा एकाएक खुशी भित्रिएको छ ।
उनको घर र पारिवारिक अवस्थाका बिषयमा सञ्चार माध्यमहरुमार्फत खबर बाहिर आएपछि कमल गाउँपालिकाका केही मनकारी युवाहरुको समुहले तीन दिनभित्रै स्थानीय संगीता राईलाई चिटिक्क परेको नयाँ घर बनाइदिएर खुशी भित्रयाएको हो । दाताहरुको सहयोगमा प्राप्त खाद्यसामान ( राहत ) समेत ओत लगाउने ठाउँ थिएन, मेरै घरमा लगेर राखिदिन्थें– संगीताका छिमेकी शान्ता चेम्जोङ देवानले भनिन । उनले संगीताको जिवनमा यही घरनै सबैभन्दा खुशीको उपहार बनेको प्रतिक्रिया दिइन ।
यसरी बन्यो चिटिक्क परेको घर
संगीताको घर परिवारको अवस्थाबारे सञ्चार माध्यमहरुमार्फत बाहिर आएपछि केही मनकारी युवाहरुले थाहा पाए । उनको अवस्थाबारे जानकारी पाएपछि ४ दिन अघि संगीताको घरमा पुगेका कमल ५ का युवा शैक्षिक तथा सामाजिक व्यक्तित्व एकराज प्याकुरेलले भने– हामी यो ठाउँमा आयौं, अवस्था साँच्चैनै दयनिय देख्यौं र अग्रज दाईहरु र साथीभाईका बीचमा सरसल्लाह भयो, संगीताको घरका लागि हामीले स्टीमेट निकाल्यौं बर्खा लागिसकेको अवस्थामा लामो समय कुर्न सक्ने कुरा भएन तत्कालै हामी एक्सनमा गयौं, तीन दिनमा यो घर तयार भयो ।
उनले घर निर्माणको सोच बनाउँदा कतिपयले यसलाई मजाकका रुपमा लिन खोजेपनि तीन/चार दिनभित्रै घर निर्माण सकिँदा भने दंग परेको बताए । घर निर्माणको लागि नेपाली कांग्रेसका स्थानीय युवा नेता हुकुमसिंह राइले नेतृत्व लिए । यो काममा सहयोगी बने थरेन्द्रराज पौडेल, राजकुमार न्यौपाने, बुद्धिशेखर बजगाइँ र पवन लुइँटेल ।
उनीहरुको विशेष सहयोग त छदैं थियो भौतिक रुपमा निर्माण कार्यका लागि चन्द्र मोक्तान, विपिन खडका, भक्त मगर, यज्ञ बहादुर थापा र दुर्गा अधिकारीले उसैगरी खटिएर संगीताको जिवनको सबैभन्दा खुशीको क्षण ल्याइदिएका हुन ।
यस्तो छ संगीताको कथा व्यथा
काखमा दुई छोरी सपु र विपासा भएपछि तेस्रो सन्तान जन्मिन केही महिना मात्रै बाँँकी छँदा एक बर्ष अघि संगीताका पति पुष्प राइको अचानक रतुवा खोलामा डुबेर मृत्यु भएको थियो । त्यसको ६ महिनापछि संगीताको काखमा तेस्रो सन्तानका रुपमा कान्छी छोरी एलिना थपिएकी थपिइन तर दुख र बेसहारा जिवन उनका लागि दिनदिनै भारी बनिरहेको थियो ।
आफनै अवस्थाबारे केही बोल्न नसक्ने छिन संगीता । छिमेकी शान्ता चेम्जोङ ( देवान) भन्छिन– मुर्छा पर्ने बिराम पनि रहेछ , खोला छेउमा गएको बेला डुबेर त्यस्तो घटना हुन गएछ । संगीताका पति पुष्पको मृत्युपछिको अवस्थाबारे बेलिबिस्तार लगाउँदै शान्ताले थपिन– सोझा सिधा, गरीबका छोराछोरी बिचरा बाबु मरेपछि झनै बेस्याहार भए ।
संगीताको परिवार त्यहाँ बस्नु अघि नातेदार ( संगीताका काका ससुरा) को घरमा बस्थ्यो । आफना सन्तान पालन पोषणको जिम्मेवारी आफैं सम्हाल्ने अठोट लिएर पुष्प र संगीताको जोडी काखमा पहिलो सन्तान च्यापेर सुकुम्बासीका रुपमा टुकुरे टोलमा आएको थियो । अरुका खेतबारी र घरायसी धन्दा सघाएका भरमा दुई छोरीसहित चार जनाको परिवारको जिविकोपार्जन हुँदै आएको थियो । तर जब संगीताका पति पुष्पको रतुवामा डुबेर मृत्यु भयो , उनीमाथि भगवानले पनि अन्याय गरेको जस्तै भएको थियो । छिमेकी शान्ताको बुझाईमा संगीताका लागि जिवनकै सबैभन्दा धेरै खुशी यो घर प्राप्तीले दिएको छ ।



