झापा । करिब दुई महिनादेखि झापाका सरकारी कार्यालयहरूले बन्द राखेको सेवा आज (मङ्गलवार) देखि पुनः सुचारु गर्ने भएको छ । कोभिड १९ सङ्क्रमणपछि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा पश्चात् जिल्लाका सबै सरकारी कार्यालयहरूले वैशाख १९ गतेदेखि अत्यावश्यकबाहेक सबै सेवा बन्द राखेका थिए ।

जिल्ला प्रशासन कार्यालय झापामा सोमबार बिहान बसेको कोभिड १९ सङ्कट व्यवस्थापन समिति (डिसीसीएमसी)को बैठकले सरकारी, सार्वजनिक संस्था, बिमा लगायतका कार्यालयहरूले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी भिडभाड नगरीकन आलोपालो प्रणाली अवलम्बन गरी सेवा प्रवाह गर्ने निर्णय गरेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सोही निर्णय बमोजिम बढी भिडभाड हुने जिल्ला प्रशासन कार्यालय, भूमिसुधार तथा मालपोत कार्यालय, नापी कार्यालय, यातायात व्यवस्था कार्यालय, आन्तरिक राजश्व कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, डिभिजन वन कार्यालय लगायतले स्थानीय पालिका अनुसार आलोपालो सेवा दिने तालिका सार्वजनिक समेत गरिसकेको जनाइएको छ ।