यातायात व्यवसायीले सरकारले अनुमति नदिएपनि शुक्रबारदेखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी दिएका छन् ।

सरकारले गत वैशाख १६ देखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइरहेको छ । उपत्यकाका तीनवटै प्रशासन कार्यालयले असार १५ गतेदेखि २५ र सोभन्दा बढी सिट क्षमताका सार्वजनिक यातायात जोर–बिजोर प्रणालीमा चलाउने अनुमति दिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तर व्यवसायीले सबै खालका सार्वजनिक यातायात सञ्चालन गर्न पाउनुपर्ने माग गरिरहेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले १० खर्बभन्दा धेरै लगानी रहेको यातायात क्षेत्र ध्वस्त हुने अवस्था आएकाले सरकारी निषेधाज्ञा अवज्ञा गरेरै भए पनि सार्वजनिक यातायात सञ्चालन गर्ने जनाएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र तीनवटै यातायात मजदुर संगठनले गत असार १४ गते नै संयुक्त विज्ञप्ति जारी गरेर आगामी असार १८ गते अर्थात शुक्रबारसम्म देशभरका सम्पूर्ण सार्वजनिक यातायातका साधन आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्ने चेतावनी दिएका छन् ।