काठमाडौ । लुम्बिनी प्रदेशमा एक जना राज्यमन्त्रीले पदवाट राजिनामा दिएर मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई अप्ठेरोमा पारेकी छन् । पोखरेलको सरकारलाई समर्थन गर्दै सरकारमा सहभागी भएकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुमन शर्मा रायमाझीले राज्यमन्त्रीपदवाट शुक्रवार राजिनामा दिएकी छन् ।
आफ्ना पार्टीवाट सरकारमा सहभागी अरुलाई मन्त्री बनाईएको भएपनि आफुलाई राज्यमन्त्री बनाएको भन्दै सुरुवाट नै असन्तुष्ट रहेकी रायमाझीले शुक्रवार राजिनामा दिएकी हुन् । उनले राजिनामा बुझाएर आफ्नो मोवाइल समेत अफ गरेकी छन् । उनको राजिनामाको बारेमा उनको पार्टीले अहिले छलफल सुरु गरेको जनाएको छ ।
यसअघि सत्ता साझेदार माओवादी केन्द्रले मुख्यमन्त्री पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि वैशाख ६ गते राजीनामा दिएका पोखरेलले जनता समाजवादी पार्टीका चार जना प्रदेश सभा सदस्यलाई साथमा लिई दोस्रो पटक प्रदेश सरकारको नेतृत्व लिएका थिए। त्यती बेला रायमाझीलाई राज्यमन्त्री बनाएका थिए ।
प्रदेश सभामा ६ जना सदस्य रहेको जनता समाजवादी पार्टीका सन्तोष पाण्डे, कल्पना पाण्डे, विजय यादव र सुमन शर्मा रायमाझीलाई वैशाख ६ गते नै मन्त्री पद दिएर सरकारमा सहभागी गराएका थिए। तर राज्यमन्त्री रायमाझीले भने दुई महिना नबित्दै शुक्रबार मुख्यमन्त्री शंकर पोखरेलसमक्ष राजीनामा दिएकी छन्।



