काठमाडौं, २१ असार । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले प्रतिनिधि सभा विघटन गरेर ताजा जनादेशमा जाने सरकारको कदम निरंकुश नभएको दाबी गरेका छन् ।

सोमवारको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य दाहालले पहिलो पटक विघटित प्रतिनिधि सभा पुनर्स्थापनापछि पनि केही काम गर्न नसकेकाले वर्तमान अवस्थामा चुनावमा जानु नै सही निर्णय भएको जिकिर गरे । उनले चुनावको विरोध गर्ने विपक्षीहरूसँग जनतामा जाने हिम्मत नभएको दाबी पनि गरे । राष्ट्रिय सभा सदस्य दाहालले भने, ‘विपक्षीहरू कसैसँग पनि जनतामा जाने हिम्मत देखिएको छैन ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले संसदीय अभ्यासका नाममा गैरसंवैधानिक अभ्यासहरू देखिएको तथा अनधिकृत र असंसदीय अभ्यास शुरु भएको दाबी गरे । उनले निर्लज्ज ढङ्गले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइ दिनुपर्‍यो भन्दै नसुहाउँदो ढङ्गले नेकपाका वरिष्ठ नेताहरू हस्ताक्षरसहित राष्ट्रपति कार्यालय र सर्वोच्च अदालतमा लाइन लागेको टिप्पणी गरेका छन् ।

सरकारले कोभिड–१९ को दोस्रो लहरको समयमा अत्यधिक आवश्यक परेको अक्सिजन उपलब्धता र खोप आयातमा निकै राम्रो काम गरेको राष्ट्रिय सभा सदस्य दाहालले दाबी गरे । उनले विपक्षी दलहरूले सरकारले गरेका राम्रा काम देख्न नसकेको टिप्पणी गरे । संसदीय प्रणालीमा राष्ट्रिय सभा मात्रै अपूर्ण हुने भएकाले प्रतिनिधि सभा विना राष्ट्रिय सभाले कुनै पनि ऐन बनाउन नसक्ने उनले बताएका छन् । बाढी र पहिरोबाट देशका विभिन्न ठाउँमा जनधनको क्षति भएको भन्दै राष्ट्रिय सभा सदस्य दाहालले राहत, पुनर्स्थापनाको माग गरे । नया पेज बाट