कचनकवल, २१ असार । कचनकवल गाउँपालिका–६ स्थित लक्ष्मी माध्यमिक विद्यालयले सार्वजनिक खरिद ऐन मिचेर दर्ता नभएको बोलपत्रदातालाई टेन्डर स्वीकृत गरेको खुलसा गरिदिएको भन्दै पत्रकार पार्थ मण्डललाई प्रधान अध्यापकले विद्यालयमा उपस्थित भएर स्पष्टीकरण बुझाउन पत्र सार्वजनिक गरेका छन् ।
विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले आवेदन दर्ता नभएको बोलपत्रदातालाई टेन्डर दिएको खुलासा गरिदिएका मण्डललाई माहाराजा शैलीमा विद्यालयमा २४ घण्टा भित्र आएर स्पष्टीकरण दिन आदेश गर्दै प्रधानाध्यापक राजु बुढाथोकीले फेसबुक मार्फत पत्र सार्वजनिक गरेका हुन् ।
आफू मातहतका शिक्षक कर्मचारीलाई आदेश दिएको शैलीमा स्पष्टीकरण माग्ने प्रधानाध्यापक बुढाथोकीको कर्तुत विरूद्ध पत्रकार महासंघ लगायत पत्रकार संवद्ध संघ संगठनले गम्भीर ध्यानाकर्षण समेत गरिसकेका छन् । विद्यालयले सार्वजनिक खरिद ऐनको धज्जी उढाउँदै नीति नियम मिचेर दर्ता नभएको फर्मलाई टेन्डर स्वीकृत गरेको छानबिन समितिले समेत ठहर गरेको छ ।
ऐन मिचेर बोलपत्र स्वीकृत गरेको समाचार प्रकाशन भएपछि कचनकवल गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख छवि बस्नेत नेतृत्वमा गएको तीन सदस्यीय छानबिन टोलीले सोमबार बिहान विद्यालय पुगेर टेन्डर प्रक्रिया सम्बन्धी सम्पूर्ण खातापाता जाँच गरेको थियो । खातापाता जाँच गर्दा विद्यालयले दर्ता नभएको मेघा नाम गरेको फर्मलाई सार्वजनिक खरिद ऐनविपरित टेन्डर स्वीकृत गरेको देखिएको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख बस्नेतको भनाइ छ ।
संघीय सरकारको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत लक्ष्मी माविलाई ६ लाख ५० हजारको कार्यक्रम परेको थियो । कचनकवल गाउँपालिकामार्फत विद्यालयलाई उक्त कार्यक्रमका लागि साढे ६ लाख बजेट प्राप्त हुने भएपछि विद्यालयले २०७८ असार ३ गते सिलबन्दी बोलपत्र आह्वान गरेको थियो । विद्यालयले खुलाएको १५ दिने कोटेसनमा इन्टरेक्टिभ प्यानल बोर्ड एक थान, स्मार्ट टिभी दुई थान, ल्यापटप एक थान, प्रोजेक्टर एक थान, कम्प्युटर सामग्री राख्ने दराज एक थान र कम्प्युटर टेबल एक थान उल्लेख थियो ।
खरिद ऐन २०६३, पहिलो संशोधन ऐन, २०७३ को परिच्छेद–५ खरिद सम्बन्धी व्यवस्था अनुसार शिलबन्दी दरभाउपत्र माग गर्दा राष्ट्रिय वा स्थानीयस्तरको समाचारपत्रमा कम्तीमा १५ दिनको अवधि दिई सूचना प्रकाशन गर्नु पर्ने प्रष्ट उल्लेख छ । तर, विद्यालय खुलाएको कोटेसनको सूचना कुनै समाचारपत्र प्रकाशनसमेत गरेको छैन । विद्यालयले कोटेसनको सूचना विद्यालय र गाउँपालिकामा मात्र टाँसेको पाइएको छ । लोकतन्त्र पोस्ट बाट साभार



