सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसको तेस्रो लहर आउनसक्ने सम्भावानाका आधारमा सुदूरपश्चिम प्रदेशका स्वास्थ्य सेवा सुधारमा अग्रसरता लिएको छ। सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले यहाँका नौ वटै जिल्लामा बालमैत्री कोभिड शय्या थप गर्नुका साथै सबै जिल्लामा अक्सिजन प्लान्ट स्थापनाको तयारी अघि बढाएको छ। प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले प्रदेश सरकारले पहाडका प्रत्येक जिल्ला अस्पतालमा १० शय्या र तराईको धनगढी, महेन्द्रनगर र टीकापुरमा ४० देखि ५० शय्याको बालमैत्री शय्या थप गर्न लागेको जानकारी दिए।

‘तेस्रो भेरियन्टमा बालबालिका सङ्क्रमणको जोखिममा पर्नसक्ने भएकाले सोहीको पूर्व तयारीमा जुटेका छौं’, प्रवक्ता कार्कीले भने,‘अन्य संरचना निर्माण र जनशक्ति थप गर्न पनि लागिएको छ।’ उनले डडेल्धुराबाहेक ६ पहाडी जिल्ला अस्पतालमा अक्सिजन प्लान्टको काम अघि बढेको जानकारी दिए। ‘सबै अस्पतालमा हामीले रु ८० लाखका दरले रकम अक्सिजन प्लान्टका लागि पठाइसकेका छौं’, उनले भने, ‘डडेल्धुरा, कञ्चनपुर र कैलालीमा संघीय सरकारबाट प्लान्ट स्थापना गर्न सहयोग हुने भनिएको छ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले धनगढीमा दातृ निकायको सहयोगमा पनि प्लान्ट निर्माण हुने बताइएको जानकारी दिए। ‘पहाडतिर अहिले प्लान्ट निर्माण बोलपत्र प्रक्रियामा गएर सम्झौताको चरणमा छ’, कार्कीले भने,‘लकडाउनका कारण सामान सप्लाइ हुन सकेको छैन।’रासस