काठमाडौं, ३ साउन । कांग्रेस सांसद मीनेन्द्र रिजालले अदालतले प्रधानमन्त्री नियुक्त गरेको भन्दै एमालेले भ्रम छर्ने काम गरेको बताए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने क्रममा आइतबार प्रतिनिधिसभा बैठकमा दलीय आधारमा धारणा राख्दै रिजालले मिलेमतोमा संविधानको धारा मिच्ने कामलाई सर्वोच्च अदालतले सच्याएर संवैधानिक सर्वोच्चता स्थपित गराएको जिकिर गरे ।
सचेत मनले लेखिएको संविधान भएको उनले बताए । ०४७ सालको संविधान नभएको उनले बताए । हरेक सांसदले विवेकको मत लिएर संसद् बचाउने व्यवस्था संविधानमा गरिएको र त्यो धारा भत्काउने काम ओली सरकारले गरेको उनले आरोप लगाए । डा. मीनेन्द्र रिजालले सत्ता बाहिर हुँदा पनि अहंकार नदेखाउन नेकपा एमालेलाई चुनौती दिएका छन् ।
संसद्मा आइतबार आफ्ना धारणा राख्दै सत्तामा हुँदा अहंकार देखाएकै कारण बाहिरिनुपरेको बताउँदै अदालतलाई चुनौती नदिन एमालेलाई चेतावनी दिए । ‘सचेत मनले लेखिएको संविधान हो’, उनले भने, ‘अदालतले प्रधानमन्त्री नियुक्ति गरेको होइन । धेरै उड्ने काम पनि नगर्नुस्, ठाउँमा बस्नुस् ।’ उनले सत्ता कसरी चल्छ भन्ने आफूहरुले देखाउने पनि बताए ।
‘सत्ता बाहिर हुँदा पनि अहंकार नबोक्नुस् । प्रतिपक्ष हेरौँला, सरकार कसरी चल्छ हामी देखाउछौं’, डा. रिजालको भनाइ थियो, ‘बीपीको पार्टीका मान्छे हौँ हामी । नेपालको अदालतले कठिन दिनमा पनि बाटो देखाएको छ । हिजो जनता संक्रमणमा हुँदा के के गरियो ? इनफ इज इनफ भनेर जनता सडकमा आएका होइनन् ? खोप र औषधि खरिदमा भ्रष्टाचार हुँदैन देउवा सरकारबाट यो विश्वास दिलाउन चाहन्छौं ।’



