काठमाडौं । नेपालमा नै पहिलो पटक क्यान्सरविरुद्धको औषधि उत्पादन सुरु गरिएको छ । टिजिङ्ग फर्मा प्राइभेट लिमिटेडले पहिलो पटक क्यान्सरविरुद्धको औषधि उत्पादन सुरु गरेको हो । नेपालमा क्यान्सरको औषधि भारत र तेस्रो मुलुकबाट आउने गर्दथ्यो । शनिबार आयोजित कार्यक्रममा टिजिङका कार्यकारी निर्देशक शैलेश वैद्यले क्यान्सरविरुद्धको औषधिको उत्पादन सुरु गरिएको बताए ।

उनले औषधि व्यवस्था विभागसँग स्वीकृति लिएर औषधि उत्पादन प्रक्रिया सुरु गरिएको र एक महिनाभित्र केही औषधि व्यावसायिक रुपमा बजारमा पुग्ने जानकारी दिए ।  कम्पनीले भारतको हैदरावादमा रहेको एन्टी क्यान्सर औषधि उत्पादक कम्पनीसँग प्रविधि हस्तान्तरण सम्झौता गरी नेपालमा क्यान्सरविरुद्धको औषधि उत्पादन सुरु गरेको हो । काभ्रेपलाञ्चोकको बनेपामा १६ रोपनी जग्गामा कम्पनी स्थापना गरी करीब ३२ करोड रुपैयाँ लगानीमा औषधि उत्पादन सुरु गरिएको हो ।

उनले तत्काल क्यान्सरसम्बन्धी पाँच औषधि उत्पादन गर्ने र पछि अरू ल्याउने योजना रहेको समेत बताए ।  कार्यकारी निर्देशक वैद्यले अत्याधुनिक प्रविधिमा बनाइएको उद्योग विश्वस्वास्थ्य सङ्गठनको  जिएमपी स्ट्यान्डर्ड र औषधि उत्पादन संहिता–२०७३ अनुरुप बनाइएको  नेपालकै नमूना कम्पनी भएको जिकिर गरे । ‘क्यान्सरको औषधिले गर्दा हुने टक्सिसिटीका कारण यो औषधि उत्पादन गर्ने ठाउँमा अन्य औषधि उत्पादन गर्न मिल्दैन, अर्को कुरा हाम्रो कम्पनीमा नवीनतम् र अत्याधुनिक प्रविधि जडान भएका छन्’, उनले भने । उनले आफ्नो कम्पनीले उत्पादन गर्ने औषधिको मूल्य विदेशबाट आउने औषधिको तुलनामा सस्तो हुने बताए । सो अवसरमा टिजिङ कम्पनीले ‘एन्टी क्यान्सर’ सम्बन्धी औषधिको समेत अनावरण गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय