राष्ट्रिय खबर

घरघरमै मनाए मुस्लिम धर्मावलम्बीले बकर ईद


  काठमाडौं   सवाल नेपाल   २०७८ श्रावण ६, २२:१८

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा सीमित मानिसकाबीच भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै हर्षोल्लासपूर्वक मनाइएको छ ।

नयाँ भेरियन्टसहितको कोरोना जोखिम कायमै रहेकाले धेरै मुस्लिम धर्मावलम्बीले भने घरघरमै प्रार्थना एवं नमाज पाठ गरी यो पर्व मनाएका छन् । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलनसक्ने डरले घरमै पढेका छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ ।

यस अवसरमा विगत वर्षमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्थ्यो । यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलनसक्ने भएकाले राष्ट्रिय मुस्लिम आयोगले पनि घरमै बसेर सुरक्षितरुपमा बकर ईद मनाउन आह्वान गरेको थियो ।

हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले जानकारी दिए ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sawalnepal89@gmail.com मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार