झापा । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको आज ४३ औं स्मृति दिवस । नेपालका कम्युनिष्ट पार्टीहरुले विविध कार्यक्रम आयोजना गरी उनको योगदानको चर्चा गर्दैछन् । दाजु गंगालाल श्रेष्ठलाई राणा शासकले मृत्युदण्ड दिएपछि मध्यमवर्गीय परिवारका पुष्पलालमा राणाविरोधी चेतना जागृत भएको थियो। २००६ साल वैशाख १० गते उनले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए।

नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पुष्पलाल पञ्चायतकालमा निर्वासनमा समेत बसेका थिए। पूर्वी पहाडी रामेछापको भँगेरीमा १९८१ असार १५ गते जन्मिएका पुष्पलाल श्रेष्ठको भारत प्रवास रहेकै अवस्थामा २०३५ साल साउन ७ गते निधन भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनको अस्तुलाई नेपाल ल्याएर विभिन्न स्थानमा सेलाइएको थियो । पुष्पलालले आफ्नो सम्पूर्ण जीवन अभाव, कठिनाइ र प्रवास बसाइका बीच पनि कम्युनिस्ट आन्दोलनको विकास, नेपाली समाजको सामाजिक, आर्थिक, सांस्कृतिक विषयमा मिहिन ढङ्गले अध्ययन र विश्लेषणमा खर्चिएको इतिहास छ ।

वि।सं। २०१७ पुस १ गते राजा महेन्द्रद्वारा निरंकुश पञ्चायती व्यवस्था लादिएपछि गुमेको जनअधिकार प्राप्तिका लागि लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर नै निरंकुशतालाई परास्त गर्न सकिन्छ भन्ने संयुक्त जनआन्दोलनको अवधारणा अगाडि सार्ने दूरद्रष्टा नेता पनि हुन् पुष्पलाल । जसको मार्गदर्शनबाट नै मुलुकले ठूलाठूला राजनीतिक परिवर्तन हासिल गरेको छ।