झापाको बिर्तामोड–५ की २५ वर्षीय सिर्जना बस्नेतको शङ्कास्पद मृत्यु प्रकरणमा दुई वटा आधार बनाएर प्रहरीले अनुसन्धानलाई फराकिलो बनाउँदै लगेको छ । सिर्जनाको मृत्यु कर्तव्य ज्यान वा आत्महत्या दुईमा एक हुन सक्ने आधारबाट अनुसन्धान तीब्र बनाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनालाई संवेदनशिल रुपमा लिएर शुरुवातबाटै सजगताका साथ अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।

१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरको रिजनल इन्भेष्टिगेशन टिम (रिट) र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त टिम सिर्जना घटना अनुसन्धान गरिरहेको छ । घटनाको विषयमा संघीय प्रहरी इकाई धरानले समेत चासो दिएको छ । गत असार २८ गते बिहान घर अगाडि अर्धनग्न अवस्थामा मृत भेटिएकी सिर्जनाको विषयमा प्रहरी अन्तिम निष्कर्षमा पुगेको छ ।

संयुक्त अनुसन्धान टोलीले सिर्जनाको मृत्यु कर्तव्य ज्यान वा आत्महत्या दुईमा एक हुन सक्ने आधारबाट अनुसन्धान गरिरहेको जनाएको छ । अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार सिर्जनाको बाहिर नभई घरभित्रै घटना घटेको हुन सक्ने प्रहरीको बुझाइ छ । घटना असार २७ गते आइतबार राति ११ बजेपछि घटना घटेको अनुमान गरिएको छ ।

अनुसन्धानको क्रममा सिर्जना राति पौने ११ बजेसम्म मोबाइल चलाउँदै गरेको सीडीआर (कल डिटेल रेकर्ड) रिपोर्टमा देखाएको बताइएको छ । शव भेटिएको दिन उनले बोक्ने मोबाइल कोठामा सुरक्षित भेटिएको थियो । प्रहरीले सिर्जनाले बोक्ने मोबाइलको फरेन्सिक जाँच काठमाडौं पठाएको थियो । काठमाडौंबाट प्राप्त फाइल समूह बनाएर सूक्ष्म अध्ययन भइरहेको र धेरै आधारहरु फेला परे पनि केही ठोस् प्रमाणको खोजीमा प्रहरी लागेको जनाइएको छ ।

सिर्जना सानिमाको घरमा परिवारसँग बस्दै आएकी थिइन् । उनी बसेको घर चार तलाको छ । सिर्जनाको २८ गते बिहान शव भेटिँदा उनका केही आफन्त र परिवार सदस्य घरमै रहेका थिए । सिर्जनाको शवको प्रकृति हेर्दा ढाड र टाउकोमा चोट जस्तो देखिएको र शव अर्धनग्न अवस्थामा रहेको प्रहरीले जनाएको छ । शवको तत्कालै अनुसन्धानको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट फरेन्सिक विभागका चिकित्सकसहितको टोली समेत झिकाइएको थियो । यस्तै अनुसन्धानमा ट्रयाकर डग ‘पिकु’ को समेत सहयोग लिइएको थियो । पिकु शव सुँघेर घरभित्रै पसेको थियो । सिर्जनाको फरेन्सिक रिपोर्ट आउन ढिलाइ भएकाले अनुसन्धानको निष्कर्षमा पुग्न नसकेको जनाइएको छ ।

यसैबीच डीएसपी थापाले सिर्जना मृत्यु प्रकरणमा अनुसन्धान जारी रहेको बताएका छन् । उनले आफूहरुले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको र छिट्टै एउटा निकर्षमा पुग्ने जानकारी दिए । हत्या र आत्महत्या दुवै विषयमा अनुसन्धान गरिरहेको प्रहरी रिपोर्टको पर्खाइमा रहेको छ । अहिले आफन्तहरूसँग बुझ्ने काम गरिरहेको प्रहरीलाई घटनाको वास्तविकता सार्वजनिक गर्न दबाब बढ्दै गएको छ ।

डीएसपी थापा भन्छन्– ‘पोस्टमार्टम रिपोर्टले पनि घटनाको तथ्यलाई उजागर गर्ने छ, हामी रिपोर्टको प्रतीक्षामा छौ ।’ भिसेरा तथा भेजाइनल स्वाब परीक्षणका लागि काठमाडौ पठाइएको र त्यसको रिपोर्ट आउन समय लाग्ने प्रहरीले जनाएको छ । बिहीबार संघीय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वमा आएको टोलीले घटनाको अनुसन्धान गर्नुका साथै प्रदेश र जिल्लाको अनुसन्धानमा खटिएको प्रहरी टोलीसँग छलफल गरेको थियो ।

प्रहरी उपरीक्षक दाहालका अनुसार– घटनाको विषयमा अनुसन्धान अन्तिम चरणमा पुगेको छ । धेरै आशंकाका बीच प्रहरीले अनुसन्धानलाई गहन रुपमा अघि बढाइ रहेको र छिट्टै वास्तविकता सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । घटना लगत्तै जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराई घटनास्थलमा पुगेका थिए । त्यस्तै जिल्ला न्यायाधीवक्ताले समेत सिर्जनाको शव भेटिएको स्थानको अवलोकन गरिसकेका छन् । घटना लगत्तै प्रहरीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चिकित्सकको टोली नै झिकाएर अनुसन्धान शुरु गरिएको थियो ।

असार २८ गतेको घटना लामो समयसम्म सार्वजानिक नभएपछि नागरिकमा असुरक्षाको अनुभूति हुन थालेको स्थानीयले बताएका छन् । इलाका प्रहरी कार्यालय अनारमनीले अपराध नियन्त्रणमा काम गर्न नसकेको भन्दै प्रहरी नायब उपरीक्षक सन्तोष आर्चायको आलोचना भएको छ ।

पछिल्लो समय भएका श्रृंखलाबद्ध शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले दोषी पत्ता लगाउन नसकेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले बिरोध समेत जनाएको छ । निरन्तरका घटनाहरुको दोषी पत्ता लगाई कानूनको कठघरामा उभ्याएर जनतालाई सुरक्षित महशुस गराउन राप्रपाले आग्रह गरेको छ । त्यस्तै हत्याका घटनाहरु बढेको तर प्रहरीले सत्यतथ्य पत्ता लगाउन नसकेको भन्दै बिर्तामोड नगरपालिकाले एक विज्ञप्ति जारी गरी सुरक्षाको माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय