महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा कोरोनाका सँगै भाइरल ज्वरोका बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट एवं निमित्त कार्यालय प्रमुख डा सतिश साहका अनुसार विगत पाँच÷सात दिनदेखि जिल्ला अस्पतालमा भाइरल ज्वरोका बिरामीको स¬ङ्ख्या ह्वात्तै बढेको हो ।

उनले अहिले जिल्ला अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ६०÷७० प्रतिशत बिरामी भाइरल ज्वरोका नै हुने गरेको बताए । उनका अनुसार अहिले अस्पतालमा दैनिक औसतमा ५० जना भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

केही दिनदेखि तराई मधेशमा अत्यधिक गर्मी बढेको र समय–समयमा वर्षा पनि भइरहेका कारण वातावरणमा आएको परिवर्तनले मानिसमा भाइरल ज्वरोको प्रकोप देखिएको डा साहले बताए । उनले मौसम परिवर्तनका कारण मानिसको शरीरमा अत्यधिक गर्मी भएको र शरीर तातो नै रहेको बेला अचानक पानीमा भिज्नु वा चिसो पदार्थ पिउनाले शरीरले तापक्रम अनुकूलरूपमा मिलाउन नसक्दा ‘इन्फेक्सन’ भएर भाइरल ज्वरो हुने गरेको बताए।

यस्तो अवस्थामा मानिसलाई नआत्तिन, झोल पदार्थ बढी खान, पानी बढी पिउन, खानपिन र सरसफाइलगायतका जनस्वास्थ्यको मापदण्डमा ध्यान दिन डा साहले सबैलाई आग्रह गरेका छन् ।