विष्णुप्रसाद पोखरेल
दमक/ झापाको दमकमा कोरोना संक्रमणबाट आज (विहिबार) एकैदिन ४ जनाको निधन भएको छ । दमकमा पछिल्लो समयमा कोरोना संक्रमणसंगै मृत्युदर समेत बढ्दै गएको छ । नगर स्वास्थ्य शाखाका अनुसार परिक्षण गरिएकाहरुमा ५० प्रतिशतभन्दा माथि कोरोना संक्रमणदर रहेको छ ।
दमक जिल्लामै सबैभन्दा बढि कोरोना संक्रमित भएको नगर हो । यहाँ दैनिक ५० भन्दा माथि कोरोना संक्रमित थपिदै गएकाछन् । मृत्युदर पनि पछिल्लो समयमा बढ्दै गएपछि चिन्ता थपिएको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीहरुको भनाई छ ।
दमक कोभिड उपचार केन्द्रकी फोकल पर्सन देबी दंगालका अनुसार २ पुरुष र २ महिला सहित ४ जनाको आज एकैदिन मृत्यु भएको हो । एकजनाको होम आईसुलेसन र अन्य ३ जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको पनि उनले जनाईन् ।
एडभान्स अस्पताल, दमक कोभिड अस्पताल र आम्दा अस्पतालमा एक/एक जना विरामीको मृत्यु भएको हो । मृत्यु हुनेमा एक ३२ बर्षिया युवती पनि रहेको बताइैएको छ । दमक १ दुम्सेमा एक महिलाको होम आईसुलेसनमा नै मृत्यु भएको हो ।
यसैबीच विहिबार दमकमा ७५ जना कोरोना संक्रमित थपिएकाछन् । यो स्वास्थ्य कार्यालय झापाले सार्वजनिक गरेको विवरण हो । एन्टिजेन परिक्षण र अबेर आएका रिर्पोटहरु यसमा समावेश नभएको समेत बताईन्छ । अझ यो संख्या बढ्ने स्वास्थ्य शाखाको भनाई छ ।
दमकमा कोरोना संक्रमणदर धेरै बढेपछि कडा निषेधाज्ञा घोषणा गरे पनि कार्यन्वयन छैन । कोरोना संक्रमणको चेन ब्रेकका लागि निषेधाज्ञा बाहेकको अन्य विकल्प नरहेको बताईदै आएको छ । तर ब्यवसायी तथा सामाजिक अगुवाहरुले यस प्रकारको निषेधाज्ञामात्र संक्रमण रोक्ने उपाय नभएको बताउदै आएकाछन् ।



