दमक/ झापाको बिर्तामोडमा भएको कोरोना विरुद्धको खोप प्रकरणको छानविन हुने भएको छ । स्वास्थ्य कर्मचारीको मिलेमतोमा होटेलमा कोरोनाविरुद्धको खोप भेटिएको प्रकरणको बिषयमा छानविन गर्न जिल्ला प्रशासन कार्यालय झापाका साहयक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको संयोजकत्वमा समिति बनेको हो ।
समितिको सदस्यमा समन्वय समिति झापाका समन्वय अधिकारी लालबहादुर श्रेष्ठ, प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापा लगायतका सुरक्षा अधिकारीहरु सम्मलित समिति बनाएर अनुसन्धान शुरु गरिएको जनाईएको छ ।
चाइनिज भेरोसिल खोप कार्टुनसहित बिर्तामोड नगरपालिकाका कोरोना फोकल पर्सन ओमबहादुर खडकालाई प्रहरीले हिजो केहिबेर नियण्त्रणमा लिएको थियो । यस घटनाको बिषयमा सात दिनभित्र छानबिन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको बताईएको छ ।
प्रहरीले होटेलबाट कार्टुनमा १०३ भाइल अर्थात् २०६ डोज खोपसमेत बरामद गरेको थियो। खोपसहित नियन्त्रणमा लिएका खडकालाई प्रहरी राती नै छाडिदिएपछि त्यसको विरोधमा विद्यार्थी सङ्गठनले शनिवार बिहान बिर्तामोड नगरपालिकामा तालाबन्दी गरेको छ।



