अर्थमन्त्री जनार्दन शर्माले मन्त्रीले जानेर वा नजानेर देशलाई घाटा हुने कुरा गरे कर्मचारीले हुँदैन भन्न सक्नुपर्ने बताएका छन् ।
नवनियुक्त अर्थसचिव मधुकुमार मरासिनीलाई स्वागत गर्दै उनले आफूले त्यस्तो कर्मचारी चाहेको बताएका हुन् ।
‘मन्त्रीले जान वा अञ्जानमा देशलाई घाटा हुने कुनै कुरा गर्यो भने त्यसलाई सीधै हुँदैन भन्न सक्नुपर्छ, म त्यस्तो कर्मचारी चाहन्छु,’ उनले भने ।
मन्त्री शर्माले संविधानले निर्दिष्ट गरेबमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कामलाई ध्यान दिएर काम गर्न नवनियुक्त सचिवलाई निर्देशनसमेत दिएका छन् । अबका दिनमा थोरै समय मात्र सुतेर बाँकी सम्पूर्ण समय आफूसँगै रहेर मन्त्रालयको काममा खट्न उनले सचिव मरासिनीलाई आग्रह गरे ।
‘आन्तरिक स्रोत बढाउने र ऋण तथा व्यापार घाटा घटाउने मुख्य कार्यभार सम्पन्न गर्न निकै मिहिनेत गर्नुपर्नेछ,’ उनले भने, ‘अन्य विभागीय प्रमुखसहित सबै कर्मचारीहरूले समेत सोही स्प्रिटलाई मनन गर्नुहोला ।’
उनले मन्त्रालयमा टेबुल–टेबुलको शासन चलाएर नहुने बताएका छन् । ‘अत्यावश्यकीय महत्त्वपूर्ण विषयहरूमा एउटै टेबुलमा बसेर छिटो–छिटो काम गर्नुपर्छ,’ मन्त्री शर्माले भने ।
मरासिनीको पदबहालीसँगै निवर्तमान अर्थसचिव शिशिरकुमार ढुंगानाको बिदाइ गरिएको छ । आगामी ६ महिनापछि सेवानिवृत्त हुन लागेका ढुंगानाको प्रधानमन्त्री कार्यालयमा सरुवा भएको छ ।



