मोरङ जिल्लामा साउन ३२ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले सोमबारबाट मध्यरातिबाट लागू हुनेगरी निषेधाज्ञाको समयावधि लम्ब्याएको हो ।

प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले रोक लगाइएका सबै कुरालाई यथावत राख्दै एक साता निषधेज्ञा थपिएको जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उक्त अवधिमा खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, खानेपानी, माछामासु, विद्यालयका पुस्तक बिक्री वितरण गर्ने पुस्तक पसल, कपडा पसल, सुन चाँदी पसल, सार्वजनिक निर्माणमा प्रयोग हुने छड, सिमेन्ट, डण्डी, विद्युतीय सामाग्री विक्री गर्ने पसललगायत सबै प्रकारका पसल, व्यवसायहरू बिहान ५ बजेदेखि बेलुका ६ः०० बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । यसअघिको निषेधाज्ञामा ६ बजेसम्म खोल्न पाइने छ ।

तर, गुद्री बजार, हाट बजार, सब्जीमण्डी, पार्टी प्यालेस सञ्चालन गर्न पाइने छैन भने जिमखाना, स्वीमिङ पुल, सिनेमा हल, व्यायामशाला, फुटसल, रंगशाला, कभर्ड हल हाललाई सञ्चालन रोक लगाइएको छ ।

जिल्लाभरिका सबै स्थानमा बेलुका ८ः०० बजेदेखि विहान ५ः०० बजेसम्म हिँडडुल रोक लगाइएको छ भने सबै विद्यालय, क्याम्पस, ट्युसन सेन्टर, कोचिङ्ग सेन्टर, विश्वविद्यालयहरू सञ्चालन गर्न नपाइने आदेशमा उल्लेख छ ।

यसैगरी, अन्तर्राष्ट्रिय सीमा नाकाबाट विदेशी नागरिकको प्रवेश निषेध गरिएको छ भने समूह जमघट भै गरिने विवाह तथा ब्रतबन्ध जस्ता सामाजिक कार्यहरू पनि नगर्ने आदेशमा जनाइएको छ ।