काठमाडौं, ३१ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले गरिरहेकै कामलाई निरन्तरता दिने र यथास्थितिमै रुमलिरहे माओवादी पार्टीको औचित्य सकिने बताएका छन् ।

दुई दिनदेखि काठमाडौंको अनुपम फुडल्याण्डमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘विश्वमा कम्युनिष्ट पार्टीहरू पतन भए । गोर्भाचोभ देखियो, येल्तसिन पनि देखियो’, उनले भने, ‘वर्गप्रति, सिद्धान्तप्रति इमान्दार नहुने हो भने पार्टीकै विघटन गरेर, अध्ययन–अनुसन्धानमा लाग्नु वा किताब लेखेर बस्नु बढी इमान्दारीता हुन्छ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

केन्द्रीय कमिटीको बैठकमा यसो हेर्दा ठीकै जस्तो देखिए पनि माओवादी पार्टी अरु बुर्जुवा प्रतिक्रियावादी भन्दा फरक नदेखिएको र त्यही दिशातिर गइरहेको प्रचण्डले औंल्याए । ‘हामीमा पनि विचलन हुने हो कि भन्ने प्रक्रिया निकै तीब्र छ । त्यतातिरै गइराखेको छ, हामीले थाहै नपाई,’ प्रचण्डले थपे, ‘हामीले यसलाई कुन विन्दुमा ब्रेक गर्छौं त ? कसले गर्छ ब्रेक ? हामीले ब्रेक गर्ने हो कि हैन ? मुखले मात्रै ब्रेक गर्ने हो कि व्यवहारमा ?’

जनयुद्धकालमा जोखिम उठाएको हुनाले अबको क्रान्तिको नेतृत्व गर्ने तागत माओवादीसँग रहेको प्रचण्डले दाबी गरे । ‘अहिले पनि नेपालको क्रान्तिको नेतृत्व गर्ने तागत यही नेतृत्वको टीमसँग नै छ,’ बैठकमा प्रचण्डले भने, ‘अबको चुनावमा हामी एक नम्बर हुन्छौं । हेर्नुहोला, पहिला पनि त्यति पत्याउँदैनथे, हामी एक नम्बर भयौं ।’

अहिलेको स्थिति सामान्य नरहेको प्रचण्डले बताएका छन् । आफूले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन हतारमा तयार पारेको हुनाले भाषिकलगायतका कमी कमजोरीहरु रहे पनि आगामी राष्ट्रिय सम्मेलनसम्म बहसका लागि यसले आधार तयार पारेको प्रचण्डले बताए ।

८ पेजको प्रस्तावमा विचारको भ्रुण भएको बताउँदै उनले यसलाई राष्ट्रिय सम्मेलनसम्म जाँदा नेपाली क्रान्तिलाई दिशावोध गर्ने दस्तावेज तयार पार्ने बताए । प्रचण्डले भने, ‘त्यसो गर्न सकेनौं भने हामी रुमलिन्छौं । हामी यसरी रुमलिन दिंदैनौं । हामी अरु जस्तो हैनौं भनेर फेरि एकचोटी सिद्ध गर्नुछ ।’

माओवादीको विधानबाट जिल्ला ‘डिलिट’

यसैबीच माओवादीले आफ्नो पार्टीका सबै जिल्ला कमिटीहरु विघटन गरेको छ । अब पार्टीका जिल्ला सम्मेलनहरू पनि नगर्ने माओवादीले घोषणा गरेको छ ।

बैठकमा प्रचण्डले भने, ‘आजैदेखि विधानबाट जिल्ला डिलिट भयो । अब जिल्ला सम्मेलन हुँदैन । अब सीधै जनतामा… ।’ अब संविधान र संघीयताको मर्म अनुसार पार्टीको स्थानीय तह, प्रदेश र केन्द्र मात्रै रहने प्रचण्डले जानकारी दिए । जिल्ला कमिटीको साटो जिल्ला समन्वयन कमिटी रहने र त्यसमा स्थानीय तहका प्रमुखहरुलाई राख्ने गरी स्थायी कमिटीले उपयुक्त व्यवस्था गर्ने प्रचण्डले केन्द्रीय कमिटीको बैठकलाई जानकारी गराएका छन् । नया पेज बाट