माओवादी केन्द्रकी सांसद यशोदा गुरुङ सुवेदीले प्रत्यक्ष निर्वाचित र समानुपातिकबाट आएका सांसदलाई फरक व्यवहार नगर्न आग्रह गरेकी छिन् । शुक्रबार संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद गुरुङले दुबै किसिमका सांसदलाई समान व्यवहार गर्न माग गर्दै राणाकालीन समयमा गरिने ‘ल्याइते र ब्याइते’को जस्तो विभेद नगर्न आग्रह गरिन् ।
समितिमा राष्ट्रिय सदाचार नीति–२०७४ माथि छलफलका क्रममा उनले सो नीतिमा सांसदहरुलाई समान व्यवहार र समान अधिकारको व्यवस्था गर्न माग गरिन् । साथै उनले समितिको बार्षिक प्रतिवेदनमा संसद विगठनका कारण समितिको काम कारवाही प्रभावित भएको विषय उल्लेख गर्न पनि आग्रह गरिन् ।



